पाँचथर, २० असोजः पाँचथरको फिदिम नगरपालिका–१२ बुधुककी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
प्रसव पीडामा रहेकी २४ वर्षीया लिम्सा थाम्सुहाङलाई नेपाली सेनाको २१ नम्बर वाहिनी अड्डा झापाको हेलिकप्टरले आज मध्याह्न उद्धार गरेको हो । थाम्सुहाङलाई झापाको बी एन्ड सी अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यहाँबाट सदरमुकाम ल्याउन सडक अवरुद्ध छ ।
फिदिम नगरपालिका–१ र ११ को सीमास्थित फेमे खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि फिदिम नगरपालिका–१०, ११, १२ र १३ तथा फालेलुङ गाउँपालिका–३ देखि ८ को सडक सम्पर्क विच्छेद भएको छ । गत वर्ष बाढीले फेमे खोलाको फलाँटेस्थित पक्की पुल बगाएपछि डाइभर्सनबाट सवारीसाधन आवतजावत गर्दै आएका थिए । शनिबार राति बाढीले उक्त डाइभर्सनसमेत बगाएपछि प्रभावित क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बन्न थालेको छ ।