भदौ ३०, २०७८ बुधबार

बलिउड नायिका निकिता रावलले आफ्नो ७ लाख रुपैयाँ लुटिएको दाबी गरेकी छन्। दिल्लीमा बन्दुक सहित आएका लुटेराहरुले उनको पैसा लुटेको उनको दाबी छ। उनका अनुसार मास्क लगाएका केही गुण्डाहरुले उनलाई दिल्लीको शास्त्रीनगर जाने क्रममा लुटेका हुन्। उनी आफ्नो आन्टीको घर हिँडेर जाँदै थिइन्।

भारतीय सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले भनेकी छन्, ‘म अहिलेसम्म त्यो घटनाबाट बाहिर आउन सकेको छैन। मलाई म जिउँदै छु भन्नेमा विश्वास पनि लागेको छैन। मैले घरभित्र छिरेर आफूलाई बचाएँ, मेरो आन्टी त्यतिबेला घरमा हुनुहुन्न थियो। यो जीवनको सबैभन्दा त्रासदीपूर्ण घटना हो यो।’

घटना पछि निकिता मुम्बईको पहिलो फ्लाइट पक्रेर घर फर्केकी छन्। घटनाको बारेमा बताउँदै निकिताले हिन्दुस्तान टाइम्ससँग भनिन्, ‘यो रातको १० बजेको समयमा भएको थियो। टोयटाको इनोभा तिब्र गतिमा आयो र मेरो सवारीलाई रोक्यो। ४ जना मास्क लगाएका युवाहरु आए र मलाई बन्दुक ताके। मलाई मसँग भएको सबै समान दिन धम्काए। त्यो कुरा सम्झदा मलाई अझै गाह्रो भइरहेको छ।’

उनको अनुसार त्यो बेलामा उनलाई मार्छन् अथवा उनीमाथि दुर्व्यवहार गर्नेछन् भन्ने लागेको थियो। त्यो १० मिनेटको समय कस्तो थियो उनलाई सम्झन मन छैन।

निकिताका अनुसार उनको औँठी, घडी, झुम्का र हिराको लकेट र केही पैसाहरु चोरी भयो जसको मूल्य ७ लाख बराबर हुन आउँछ।