असोज २४, २०८२ शुक्रबार

मन्थली (रामेछाप), २४ असोजः रामेछापमा सहकारीमार्फत माहुरीपालन गर्न थालिएको छ । मनग्य आम्दानी हुन थालेपछि सहकारीमार्फत माहुरीपालन गर्न सुरु गरिएको हो ।   

मन्थली र रामेछाप नगरपालिका तथा सुनापति गाउँपालिकाका किसानले माहुरीपालनबाट पर्याप्त आम्दानी गर्ने गरेपछि मन्थलीमा रहेको सदाबहार बहुद्देश्यीय सहकारी संस्थाले व्यावसायिक रुपमा माहुरीपालन सुरु गरेको हो । सदरमुकाम मन्थली बजारमा २० घारबाट सुरु गरिएको माहुरीपालनले मनग्य आम्दानी हुन थालेपछि आफूले सहकारीमार्फत माहुरीपालन विस्तार गरी ६० घार पु¥याउने लक्ष्य राखेको सदावहार बहुद्देश्यीय सहकारी संस्था मन्थलीका अध्यक्ष चन्द्र मानन्धरले राससलाई बताउनुभयो । 

“सहकारीमार्फत माहुरीपालन गरिएको यो जिल्लामा पहिलो हो । यसलाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने हो भने अन्य सहकारीले पनि यस प्रकारका कृषिकर्ममा लगानी गर्ने वा आफैँले माहुरीपालन गरे फाइदा हुने देखिन्छ”, उहाँले भन्नुभयो, “माहुरीपालन बचत तथा ऋणको कारोबार गर्ने सहकारी आफैँले गर्न त नमिल्ला, तर कृषिसँग सम्बन्धित सहकारीले माहुरीपालन गरेर राम्रो आम्दानी लिन  सक्छन् । माहुरीपालक इमान्दार कृषकलाई जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाले पनि लगानी गर्न सक्छन् ।”   

विशेषगरी पुस र माघ महिनामा तोरी फुलेको याममा बढी मह उत्पादन हुने भएकाले मेलिफेरा जातका माहुरीले राम्रो उत्पादन दिने माहुरी पालक किसान बताउँछन् । परम्परागत रुपमा पालिएका सेरेना जातका माहुरी लोकल माहुरी भएकाले यिनिहरुले कम मह उत्पादन गर्ने गरेका कारण अहिले व्यावसायिक रुपमा मौरीपालन गर्ने किसानले मेलिफेरा जातको माहुरी पाल्ने गरेका अध्यक्ष मानन्धरले बताउनुभयो । 

वर्षाको समयमा माहुरी चर्न जान नसक्ने र फूलसमेत कम फुल्ने भएपछि उनीहरुको चरन क्षेत्र कम हुने  भएका कारण यस वेला निक्कै कम मात्र मह उत्पादन हुने गर्दछ । तालिम प्राप्त नगरेका व्यक्तिले माहुरीपालन गर्न कठिनाइ हुनेहुँदा यसका लागि तािलम अनिवार्य भएको माहुरी कृषकहरु बताउँछन् ।

सुक्खा ठाउँमा हुने व्यवसायको विकल्प खोज्दै जाँदा आफू यस माहुरीपालन व्यवसायमा लागेको र सोबाट उत्पादित मह बिक्रीबाट आफूले मासिक रुपमा ५० हजारभन्दा बढी कमाउने गरको रामेछाप नगरपालिका–७ सुकाजोरका माहुरीपालक कृषक कृष्णबहादुर मगर बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “म लामो समय वैदेशिक रोजगारीमा थिए । विसं २०७२ को भूकम्पपछि नेपाल फर्केर आफ्नै गाउँमा केही गरौँ भन्ने अठोटका साथ पहिला पशुपालन गरे । त्यसपछि कुखुरा पाले तर तिनीहरुलाई घाँस, पानी र दाना नियमिति दिनुपर्ने गाउँमा पानीको समस्या हुने भएपछि अन्य विकल्प खोज्दै जाँदा मैले यो व्यवसाय रोजेको हुँ । यसबाट म सन्तुष्ट छु ।”
 
सुरुसुरुमा माहुरीपालक किसानका लागि अनुदानको व्यवस्था गर्ने गरिएको, अनुदान प्राप्त भएपछि एउटै किसानने माहुरीपालन विस्तार गर्ने तर गाउँका अन्य सिकानले खासै चासो नगर्ने भएपछि उक्त अनुदानका साझेदारी कार्यक्रम कटौती भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले जनाएको छ । 

आफ्नो कार्यालयसँग गत वर्ष माहुरी प्रवद्र्धन कार्यक्रम रहे पनि यस वर्ष भने उक्त कार्यक्रमका लागि बजेट विनियोजन नभएको तर युवालक्षित कार्यक्रमअन्तर्गत बास्तविकताका आधारमा केही सहयोग गर्न सकिने राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कार्यालय प्रमुख थिरलाल गैरेले बताउनुभयो । तोरी वा अन्य फुल फुलेको ठाँउमा माहुरी चराउन लैजाने गरिन्छ । पराग सेचनमा माहुरीको महत्वपूर्ण योगदान हुने हुनाले मौरी चराएको तोरी बढी फल्ने मन्थली–की सरिता ढुङ्गेलले बताउनुभयो । 

मह प्रतिकिलो रु एक हजारदेखि रु एक हजार ५०० सम्ममा बिक्री हुने गरेको छ । यसको बजार, रामेछापको जिल्ला सदरमुकाम मन्थली छिमेकी जिल्ला दोलखा, सिन्धुली र काठमाडाँै हो । त्यसका अलावा विभिन्न समयमा जिल्ला जिल्लामा हुने गरेको मेला तथा महोत्सवमा समेत मह बिक्री हुने गरेको सुनापति गाउँपालिका–५ का माहुरीपालक कृषक कृष्णबहादुर श्रेष्ठ बताउनुहुन्छ । 

वर्षात्को समयमा भन्दा हिउँदको समयमा बढी मह उत्पादन हुने यस व्यवसाय प्रबद्र्धन गर्नका लागि सरकारी निकायको विषेश पहल हुनुपर्ने मन्थली–५ सुनारपानीका कृषक हिरालाल आचार्यले बताउनुभयो । यो व्यवशायका लागि स्थानीय तहले विशेष कार्यक्रम सञ्चालन गर्नसके गाउँमै स्वरोजगार बन्न सकिने अवस्था  रहेको मन्थली–१ का गुञ्जबहादुर श्रेष्ठ बताउनुहुन्छ ।