महोत्तरी, २५ असोजः एक साताअघिको अविरल वर्षासँगैको बाढीले डुबानमा पर्दा असहज बनेको यहाँको जनजीवन अब क्रमशः सामान्य हुँदैछ । यसै असोजको १७, १८ र १९ गते परेको पानीले जताततै डुबानमा परेर अस्तव्यस्त पारेको जनजीवन गत सोमबारदेखि थामिएपछि अब क्रमशः सामान्य बन्दै गएको हो ।
डुबानले अत्यधिक प्रभाव पारेको जिल्ला सदरमुकाम जलेश्वरका बस्तीमा अब पानी सुक्दैछ । जिल्लाका सबै (१५ वटै) स्थानीय तहमा कतै कटान र कतै डुबानले जनजीवन अस्तव्यस्त बनाए पनि सबैभन्दा बढी जलेश्वर नगर क्षेत्र प्रभावित बनेको थियो । जिल्लाको शिरानदेखि पुछारसम्म बग्ने रातु नदीको तटबन्ध ठाउँठाउँ भत्किँदा बाढीको पानी जलेश्वर नगरक्षेत्रका बस्तीमा पसेर डुबानमा परेको थियो ।
अहिले पछिल्ला छ दिनयता लगातार घाम लाग्दै आएपछि डुबानमा रहेका ठाउँको पानी बगाउन सकिएको र सुक्दै पनि गएको जलेश्वरका नगर प्रमुख सुरेश साह सोनार बताउनुहुन्छ । यहाँका मुख्य पाँच नदी रातु, मरहा, ओक्सी, बाँके र कुटमेश्वरीको बाढी बस्तीमा पस्दा भारतीय सीमावर्ती बस्ती डुबानले बढी प्रभावित भएका थिए । अन्य ठाउँको डुबानको पानी सुकिसके पनि जलेश्वर नगर क्षेत्रका केही ठाउँमा भने अझै हिलो पानी सुकिसकेको छैन ।
रातु नदीको तटबन्ध बाढीले चार ठाउँ भत्काएको थियो । जलेश्वर मुख्य नगर क्षेत्रका कैयन कार्यालय परिसर डुबानमा परेका थिए । प्रादेशिक अस्पताल जलेश्वर, विद्युत् प्राधिकरण कार्यालय, जलेश्वर नगर कार्यपालिकाको कार्यालय र कारागार लामो समयसम्म डुबानमा रहे । “अहिले अन्य ठाउँको हिलो पानी सुकेपनि कारागारमा भने अझै सुकिसकेको छैन”, नगरप्रमुख सोनार भन्नुहुन्छ, “बजार क्षेत्र र बस्तीभित्रका सडकको पानी भने अब सुकेको छ ।”
डुबानको पानी सुक्दै गएपछि हिँडडुल सहज भएसँगै जनजीवन क्रमशः सामान्य बन्दै गएको सोनारको भनाइ छ । जलेश्वरमा बाढीको बहावमा परेर गत बुधबार एक किशोरको मृत्यु पनि भयो । डुबानले जिल्लाको धानबालीलगायत अन्य फसलमा निकै क्षति गरेको छ । माछा पालेका पोखरीमा बाढी पस्दा रु १० करोड बढीको माछा बगेर नोक्सान भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यसैगरी, रातु नदीको तटबन्ध भत्किँदा नै रु १५ करोड बढीको क्षति आँकलन गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताउनुभयो । असोज तेस्रो साताको वर्षा र बाढीले जिल्ला सदरमुकाम जलेश्वर नगरसँग बाहिरी सडक सञ्जालको डुबान तथा ठाउँठाउँको कटानले सम्पर्क टुटेको थियो । अब भने जलेश्वर–मटिहानी, जलेश्वर–बर्दिबास, जलेश्वर–भिट्ठामोर र जलेश्वर–सम्सीसहितका सडकमा यातायात सञ्चालन भएको छ ।
पछिल्ला पाँच/छ दिन डुबानले बन्द रहेको जलेश्वर मुख्य बजारका पसल अब सञ्चालनमा आएका छन् । दसैँभित्रै बाढी र डुबानले हण्डर खेपेका यहाँका सर्वसाधारण आउँदै गरेको दीपावली र छठ पर्वको तयारीमा जुट्न थालेसँगै बजारमा चहलपहल पनि बढ्दै गएको छ ।