असोज २५, २०८२ शनिबार

झापा, २५ असोजः जेनजी आन्दोलनका सहिदहरुको स्मृतिमा युथ फर सोसाइटीले आज यहाँ आयोजना गरेको ‘मेचीनगर रन २०८२’ मा पुरुषतर्फ दमकका २३ वर्षीय शरद सिंह र महिलातर्फ दमककी पुष्पा लिम्बु प्रथम हुनुभएको छ ।
प्रतियोगितामा पुरुषतर्फ दोस्रो विर्तामोडका १६ वर्षीय शिव कार्की र तेस्रो दमकका मिङसेन लिम्बू हुनुभएको छ । साथै महिलातर्फ दमककी मन्दिरा महतरा दोस्रो र दमककै रुबिना महतरा तेस्रो हुनुभएको छ ।

प्रतियोगितामा पहिलो हुनेलाई रु पाँच हजार, द्वितीयलाई रु तीन हजार र तृतीय हुनेलाई रु दुई हजारका दरले पुरस्कार प्रदान गरिएको थियो । मेचीनगर नगरपालिकाको वडा नं १५ ज्यामिरगढीबाट सुरु भएको दौड धुलाबारीमा पुगेर समापन भएको थियो ।

प्रतियोगितामा झापाका विभिन्न स्थानबाट आएका १६४ जना युवा धावकहरु सहभागी रहेको आयोजक युथ फर सोसाइटीका सदस्य जयराम दाहालले बताउनुभयो । जसमा १५६ जना पुरुष र १८ जना महिला सहभागी रहेका थिए ।

सोसाइटीले जेनजी आन्दोलनमा झापाबाट सहिद हुनुभएको दिनेश राजवंशी र गोपाल सेढाइको परिवारलाई रु ५० हजारका दरले सहयोग उपलब्ध गराउने जनाएको छ । दौड प्रतियोगिताको समापन कार्यक्रममा सहिद दिनेश राजवंशीकी आमा सपना राजवंशीलाई रु ५० हजार सहयोग हस्तान्तरण गरिएको थियो ।

धुलावारीस्थित इस्ट होराइजन अंग्रेजी माविका प्रिन्सिपल सञ्जीव राईले जेनजी आन्दोलनमा झापाबाट शहादत प्राप्त गर्नुहुनेका छोराछोरीलाई कक्षा १२ सम्म अध्ययनमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने सोही कार्यक्रममा प्रतिबद्धता व्यक्त गर्नुभयो ।