गुल्मी, २६ असोजः पछिल्लो समयमा स्थानीय पालिकाले जिल्लामा ‘जिपलाइन’ र ‘स्काई साइक्लिङ’का क्षेत्रमा लगानी गर्न थालेका छन् । युवावर्गमा साहसिक खेलप्रति आकर्षण बढ्न थालेसँगै यहाँका पालिका पर्यटन प्रवर्द्धनका लागि नयाँनयाँ पूर्वाधार निर्माणमा लाग्न थालेका हुन् ।
साहसिक खेलप्रति जिल्लामा स्थानीय युवा, पाका उमेर समूहसम्मका व्यक्तिको रुचि बढ्न थालेको छ । जिल्लामा स्थानीय पालिकाले साहसिक खेलका रूपमा रहेको जिपलाइन र स्काई साइक्लिङका लागि लाखौँ रकम खर्चिएर पूर्वाधार निर्माणमा जुटेका हुन् ।
जिल्लामा पहिलोपटक छत्रकोट गाउँपालिकाममा जिपलाइन निर्माण भइसकेको छ । छत्रकोट–३ अन्तर्गत रहेका छत्र देवालय मन्दिर र लुम्छाको भगवती मन्दिर जोड्ने गरी एक हजार ८० मिटर लामो जिपलाइन निर्माण गरिएको हो ।
छत्रकोट गाउँपालिकाले एक वर्षदेखि जिपलाइन सञ्चालनमा आएको जनाएको छ । ‘रुरु रेसुङ्गाको धार्मिक आश, छत्रकोटमा बसौँ बास’ भन्ने नाराका साथ गाउँपालिकाले छत्रकोटभित्र रहेका पर्यटकीय स्थानलाई जिपलाइन सेवामार्फत माध्यमबाट प्रचारप्रसार गर्न थालेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । उहाँका अनुसार गाउँपालिका र लुम्बिनी प्रदेशको समपुरक बजेटअन्तर्गत रु ८६ लाख ७३ हजार १४४ लागतमा उक्त जिपलाइन निर्माण गरिएको हो ।
पछिल्लो पटक मदाने गाउँपालिकामा पनि जिपलाइन र स्काई साइक्लिङ निर्माण गरिसकिएको छ । मदाने–७ स्थित भनभनेको रोल्मा तिखेचुलीमा पर्यटन पूर्वाधार कार्यक्रमअन्तर्गत जिपलाइन र स्काई साइक्लिङसहित विभिन्न पर्यटकीय पूर्वाधारहरु निर्माण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।
सालझण्डी–ढोरपाटन सडक, मदनभण्डारी राजमार्गसँगै पर्यटकीय क्षेत्रका रूपमा रहेको कङ्के देउरालीलाई समेटेर पर्यटन प्रवर्द्धन गर्ने मुख्य योजना रहेको मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुवँरले बताउनुभयो । गुल्मी, अर्घाखाँची र प्युठानको सिमा नजिकै रोल्माको तिखेचुलीमा जिपलाइन र स्काई साइक्लिङलाई व्यावसायिक रूपमा अघि बढाउन थालिएको उहाँले उल्लेख गर्नुभयो ।
मदानेमा रु ७४ लाख २५ हजार २९२ लागतमा ३२० मिटर जिपलाइन र ९० मिटर डवलस्काई साइक्लिङ निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले जानकारी दिनुभयो ।
त्यसैगरी, रेसुङ्गा नगरपालिकाले पनि धार्मिक एवं पर्यटकीयस्थल रेसुङ्गाको गर्जुरा क्षेत्रमा निर्माण गर्न थालेको जिपलाइन र स्काई साइक्लिङको काम अन्तिम चरणमा पुगेको छ । रु एक करोड २५ लाखको लागतमा उक्त क्षेत्रमा ४२५ जिपलाइन र १८० मिटर स्काई साइक्लिङ निर्माण थालिएको बताउँदै शीघ्र सेवा सञ्चालनको तयारी भइरहेको नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
यसले धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गालाई पर्यटकीय दृष्टिकोणले थप विकास गर्न मद्दत पुग्ने नगर प्रमुख पन्थीले बताउनुभयो । रेसुङ्गा नगरपालिकाले सुरु गरेको ‘जाउँ हिँड रेसुङ्गा’ अभियानलाई थप टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
रुरुक्षेत्र गाउँपालिकाले पनि स्याङ्जाको कालीगण्डकी गाउँपालिकासँगको साझेदारीमा रिडीको देवदत्तपार्कबाट स्याङ्जाको हनुमानबाटीका जोड्ने गरी जिपलाइन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ । जिल्लामा पछिल्लो समय स्थानीय पालिकाले पर्यटन प्रवर्द्धनका क्षेत्रमा लगानी बढाउन थालेका छन् ।