असोज २७, २०८२ सोमबार

झापा, २७ असोजः बुद्धशान्ति गाउँपालिका–४ मा रु तीन करोडमा निर्माण भएको पाल्यून देछेन छोइलिङ गुम्बा टिमाइ खोलाको कटानका कारण जोखिममा परेको छ । 

गत साताको अविरल वर्षाका कारण टिमाइ खोलामा आएको बाढीले कटान गर्दा खेला गुम्बा छेउमै पुगेको गुम्बा सञ्चालन उपसमितिका संयोजक मेनथिङ तामाङले बताउनुभयो ।

कोशी प्रदेशको प्रख्यात धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिचित उक्त गुम्बा विसं २०७९ मा दातासँग सहयोग जुटाएर निर्माण गरिएको तामाङले जानकारी दिनुभयो । 

एक बिघा तीन कठ्ठामा रु तीन करोडभन्दा बढीको लगानीमा निर्माण गरिएको गुम्बा जोगाउन तत्काल तटबन्धनको आवश्यकता रहेको उहाँले बताउनुभयो । “हामीले स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई गुहारिरहेका छौँ”, उहाँले भन्नुभयो, “तत्काल तटबन्धन गरेर खोला मोड्न नसके गुम्बा जोगाउन सक्ने अवस्था छैन ।”

उहाँका अनुसार गुम्बामा धार्मिक तथा सांस्कृतिक महत्वका सामग्री र ऐतिहासिक दस्ताबेज राखिएका छन् । गुम्बा नजिक पालिकाले उपलब्ध गराएको १० कठ्ठा जमिनमा रमणीय बुद्धपार्क निर्माण भइरहेको छ । पार्कमा ३० फिट अग्लो बुद्ध, डोल्मा लगायतको मूर्ति निर्माण भइसकेको छ । 

मदन भण्डारी राजमार्गदेखि करिब ५०० मिटर दक्षिणमा रहेको यस गुम्बामा नेपाल, भारतलगायतका मुलुकबाट धार्मिक पर्यटकहरु आउने गरेको उहाँको भनाइ छ । गुम्बाका गुरु लापेन छेदाङ्गले बौद्ध धर्मसम्बन्धी शिक्षा लिन विद्यार्थीहरु यहाँ आउने गरेको उहाँले बताउनुभयो ।