बैतडी, २७ असोजः बैतडीको पाटनमा जारी पाँचौ संस्करणको उदयदेव–पाटन प्रिमियर लिग (युपिपिएल) प्रतियोगितामा हिमचुली युवा क्लब सेमिफाइनल पुगेको छ । आज सम्पन्न खेलमा हिमचुलीले केदार शक्ति क्रिकेट टिमलाई नौ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
जितका लागि पाएको १२२ रनको लक्ष्य पछ्याएको केदारशक्तीले निर्धारित १५ ओभरमा नौ विकेटको क्षतिमा ११२ रन मात्रै बनाउन सक्यो ।
उसका लागि यशकुमार कठायतले ३२ र किरण धामीले ३१ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् । हिमचुलीका ऋषिकेश बोहरा र प्रकाश विष्टले २÷२ विकेट चट्काए ।
यसअघि श्रीकृष्ण माविको खेलमैदानमा पहिला ब्याटिङ गरेको हिमचुलीले ९ विकेटको क्षतिमा १२१ रन जोड्यो । उसका लागि ऋषिकेश बोहराले ३६, सन्तोष साउदले ३२ र राजेन्द्र बोहराले अविजित २७ रन बनाए ।
केदारशक्तिका सन्तोष पाण्डेयले तीन, किरण धामीले दुई विकेट हात पारे । अलराउन्डर प्रदर्शनमार्फत हिमचुलीलाई जिताएका ऋषिकेश बोहरा प्लेयर अफ द म्याच चुनिएको स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।
पाटन एकता समाजको आयोजनामा यही असोज २५ देखि सुरू भएको प्रतियोगितामा १३ टोली सहभागी छन् । पाटन नगरपालिका प्रायोजक रहेको प्रतियोगिताको विजेताले रु एक लाख लाख ३५ हजार ७९१ र उपविजेताले रु ५६ हजार ७८९ पाउनेछ । साथै प्लेयर अफ द सिरिजलाई रु १२ हजार ३४५, उत्कृष्ट ब्याटर र बलरलाई जनही रु ५ हजार ६७८ दिइनेछ ।