असोज २७, २०८२ सोमबार

चितवन, २७ असोजः दूध उत्पादन, बजारीकरण र भुक्तानीको विषयमा केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको आयोजनामा आज यहाँ छलफल भएको छ । चितवनसहित २७ जिल्लाका दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष, केन्द्रीय समिति र दुग्ध विकास संस्थानका प्रमुखलगायतसँग छलफल गरिएको हो ।

    सो क्रममा संस्थानका महाप्रबन्धक सञ्जीव झाले सहकारीहरुको दूधको बजारीकरणमा सहयोग गर्दै दूधको भुक्तानीलाई समेत प्रथामिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । झाका अनुसार संस्थानमा अहिले रु ५६ करोडका धुलो दूध र मखन मौज्दात रहेको छ । त्यसका कारण भुक्तानीमा समस्या आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले किसानको भुक्तानीलाई प्राथमिकतामा राखेर मौज्दात घटाउँदै लगेका छौँ ।” भदौ मसान्तसम्ममा रु ८६ करोडको मौज्दात रहेकामा अहिले यसलाई घटाइएको हो । दसैँको समयमा मात्रै २०० मेट्रिकटन धुलो दूध र मखन बिक्री गरिएको उहाँले जानकारी दिनुभयो । देखिएको समस्यामा सुधार हुँदै गरेको उहाँको भनाइ थियो ।  

    किसानको रु ८५ करोड संस्थानले तिर्नुपर्ने बक्यौता रहेकामा यो महिनासम्ममा रु ३२ करोड हाराहारी भुक्तानी गर्ने गरी प्रक्रिया अघि बढेको उहाँले बताउनुभयो । हरेक महिनामा सोही अनुसार भुक्तानी गरेर गरेर माघ÷फागुनसम्ममा नियमित भुक्तानी हुने व्यवस्था गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

    केन्द्रीय दुग्ध उत्पादक सरकारी सङ्घका अध्यक्ष अम्बरबहादुर कुँवरले किसानको दूधको भुक्तानी गरेर सहज गर्न आग्रह गर्नुभयो । तीनदेखि सात महिनाको भुक्तानी पाउन बाँकी रहेकाले तिहारलगत्तै मन्त्रालयसँग बसेर भुक्तानीको विषय टुङ्गो लगाउन सङ्घ लागिपरेको उहाँले बताउनुभयो । भुक्तानीको विषयमा सङ्घ गम्भीर भएर सोचेर अघि बढ्ने उहाँको भनाइ छ । उहाँका अनुसार डेरीहरुले रु तीन अर्ब हाराहारी बक्यौता भुक्तानी गर्न बाँकी छ । देशभरमा एक हजार ८७५ दुग्ध उत्पादक सहकारी रहेका छन् । तीमध्ये सङ्घमा ८६६ सहकारी आबद्ध भएको भन्दै उहाँले छ लाखभन्दा बढी परिवार दुग्ध उत्पादन क्षेत्रमा लागेको बताउनुभयो । संस्थानबाहेक ३५ वटा निजी डेरीले सहकारीबाट दूध उठाउँदै आएका छन् । तीमध्ये ४० प्रतिशतको भुक्तानी नियमित नभएर बक्यौता बसेको उहाँको भनाइ थियो ।
 
    सो अवसरमा विभिन्न जिल्लाका अध्यक्षले आ–आफ्नो समस्या राख्नुभएको थियो । नेपालमा सबैभन्दा बढी दूध उत्पादन हुने जिल्लामा चितवन, इलाम र काभ्रेपलाञ्चोक पर्दछन् । दैनिक १२ लाख लिटर दूध बजारमा बिक्रीका लागि जाने गर्दछ । चितवनका दुग्ध उत्पादक किसानले मात्र रु ८० करोडभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको छ । 

    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले चितवनका सहकारीले मात्र संस्थानबाट रु ४० करोड र  निजी डेरी उद्योगबाट अन्य बक्यौता पाउनुपर्ने बताउनुभयो । जिल्लामा हाल तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्लाबाहिर खपत हुने गरेको बगालेले जानकारी दिनुभयो ।