असोज २७, २०८२ सोमबार

कीर्तिपुर (काठमाडौँ), २७ असोजः क्रोध भावयुक्त मूर्तिका प्रसिद्ध ९२ वर्षीय मूर्तिकार कालु कुम्हालेको समग्र कला जीवनमा आधारित म्युजिक भिडियो ‘शान्त स्वभावका...’ आज कीर्तिपुरमा सार्वजनिक गरिएको छ । कुल नौ मिनेटको उक्त म्युजिक भिडियोमा कुम्हालेको कला साधना, समर्पण र समाजसेवाका पक्षलाई उजागर गरिएको छ । 

    क्रोधकला फाउन्डेसनद्वारा निर्मित उक्त म्युजिक भिडियोमा शब्द प्रेम महर्जनको छ भने स्वर तथा सङ्गीत नरेन्द्र प्यासीको र निर्देशन लुज सिंहको रहेको छ । क्रोधकला जटिल र अत्यन्त मेहनत आवश्यक हुने शिल्प मानिन्छ । 

    विसं १९९० मा पाटनमा जन्मिनुभएका कुम्हालेका क्रोधमुद्राका मूर्तिहरु देशका विभिन्न स्थानमा मात्र नभई लन्डनको भिक्टोरिया सङ्ग्रहालयमा समेत छन् । पाटन र स्वयम्भूका सङ्ग्रहालयमा राखिएका बज्रयोगिनीका मूर्तिहरु  विशेष आकर्षक रहेका छन् । 

    कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोलले उहाँलाई सम्मान गर्नुभयो । विपन्नताका कारण औपचारिक शिक्षा लिन नसकेका मूर्तिकार कुम्हालेले मूर्तिकलाको भने गहन अभ्यास गर्नुभएको कार्यक्रममा जानकारी दिइयो । सानै उमेरदेखि कलामा नै जीवन बिताउनुभएका उहाँले गोरखा दक्षिणबाहुदेखि विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय पुरस्कार पाउनुभएको छ ।