असोज २८, २०८२ मंगलबार

महोत्तरी, २८ असोजः चन्द्रमासले कात्तिक कृष्णपक्ष लागेसँगै मधेसका प्राचीन मिथिला क्षेत्रसहित महोत्तरीमा कुम्हाल समुदायको व्यस्तता बढेको छ । यसपक्षको अन्त्यमा पर्ने दिवाली (लक्ष्मीपूजा, दीपावली, तिहार, यमपञ्चक) र त्यसलगत्तै सुुरु हुने छठ पर्वमा माटाका भाँडाको माग बढ्ने भएकाले कुम्हाल समुदायमा माटाका भाँडा बनेउने व्यस्तता बढेको हो ।

    दिवाली र छठ पर्वमा कलश राखिने भाँडा, दियो, घडा (गाग्रो) र छ्याँची (दही जमाउने भाँडा) र ढकनासहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल परम्पराअनुसार अहिले भाँडा बनाउने काममा कुम्हाल समुदायको व्यस्तता बढेको स्थानीय बताउँछन् ।

    वर्षभरि अन्यबेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा पर्व विशेषमा मिथिला परम्परामा अनिवार्य जस्तै मानिन्छन् । पर्व विशेषमा बत्ती बालिने दियो, कलश राखिने अम्खोरा वा करुवा, पर्वका दही जमाइने छ्याँची, पर्वमा चढाइने सामग्री राखिने तौला र गाग्रीसहित माटाका नयाँ भाँडा प्रयोग गर्ने स्थापित परम्परा छ । यस परम्पराले प्राचीन मिथिला क्षेत्रका सबैजसो हटिया (बजार)मा अहिले माटाका भाँडाको बजार जम्दैछ ।

    सामान्यतया दीपावली कात्तिकमा परे पनि यसपाली सौरमासको असोज चौथो साता प्रारम्भसँगै चन्द्रमासको कात्तिक कृष्णपक्ष सुरु हुन्छ । सोही कारण सौरमासको असोज छँदै दीपावलीको तयारी अघि बढेको छ । आगामी आइतबार नै दीपावलीको यमपञ्चक सुरु हुने भएकाले यसपाली असोजमै तयारी अघि बढेको स्थानीय रामसागर पण्डित कुम्हालले बताउनुभयो । 

    यमपञ्चक भनिने दीपावली पर्व आगामी कात्तिक २ गते आइतबार सुरु भएर कात्तिक ६ गते बिहीबार सकिन्छ । महोत्तरीका बस्तीबस्तीका हटियामा अहिले दिनहुँजसो माटोका भाँडाको बजार लाग्ने गरेको छ । 

    अन्यबेला साप्ताहिक हाट लाग्ने दिनमात्र यी भाँडाका बजार लागे पनि अहिले कात्तिक कृष्णपक्ष सुरु भएसँगै दिनदिनै बजार, गाउँ सबैतिर व्यापार जम्दै गएको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले बताउनुभयो । मिथिला क्षेत्रमा माटाका नयाँ भाँडा शुभकार्य गर्न उत्तम हुने धार्मिक, सांस्कृतिक र सामाजिक मान्यताले चाडपर्वमा यसको माग बढ्ने गरेको उहाँको भनाइ छ ।

    दिवाली र छठ पर्वमा पूजाआराधनामा प्रयोग गरिने सामग्री माटाकै भाँडामा राखनधरन गरिने परम्पराले नयाँ भाँडाको कारोबारमा वृद्धि भएको कुम्हाल समुदायका व्यापारी बताउँछन् । भाँडा बिक्री भएसँगै आफूहरूको दिवाली र छठका लागि खर्च जोहो हुने गरेको कुम्हालको भनाइ छ । 

    पर्वको समय पारेर महोत्तरीका जलेश्वर, मटिहानी, मनरा, बर्दिवास, औरही, सीतापुर, रामगोपालपुर, गौशाला, सम्सी र लोहारपट्टीसहितका मुख्य बजार केन्द्रमा माटाका भाँडाका स्थायी स्टल राखिएका छन् । महोत्तरीबाहेक मधेस प्रदेशका अन्य जिल्लाका बजारमा पनि माटाका भाँडाको बजार लाग्न थालेको छ ।

    मिथिला क्षेत्रमा दुईदशक पहिलेसम्म माटाका भाँडा दैनिक प्रचलनमा रहे पनि त्यसयता प्लाष्टिकका भाँडाको प्रयोग बढेपछि आफूहरूको व्यवसाय चाडपर्व विशेषमा खुम्चिएको कुम्हाल बताउँछन् । अहिलेको कमाइले सालभरिको नगद खर्चको जोहो गर्नुपर्ने हुँदा काम भ्याइनभ्याइ भएको रामसागरले बताउनुभयो । 

    दिवाली र छठका अवसरमा महोत्तरीका बजारमा ३० लाखभन्दा बढीको माटाका भाँडाको कारोबार हुने जलेश्वर उद्योग वाणिज्य सङ्घले जनाएको छ । कात्तिक कृष्णपक्षसँगै जमेको माटाका भाँडाको बजार छठसम्मै रहने र यस्ता सामानमा केही मूल्यवृृद्धिसमेत भएको हुँदा यी पर्वभित्र जिल्लाभरिमा ३० लाखभन्दा बढीको कारोबार हुने अनुमान गरिएको सङ्घका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।