असोज २८, २०८२ मंगलबार

तम्घास (गुल्मी), २८ असोजः गुल्मीको सदरमुकाम तम्घासमा पर्यटक प्रवर्द्धनका लागि फल्चा निर्माण गरिएको छ । पछिल्लो समय काठमाडौँसहित देशका प्रमुख सहरमा फल्चा निर्माण भइरहेकाबेला गुल्मीमा पनि पर्यटक र यात्रुका लागि दुई वटा फल्चा निर्माण गरिएको हो । 

    रेसुङ्गा नगरपालिकाको सहयोगमा तम्घासको बसपार्क नजिकै र भगवती मन्दिरमा फल्चा निर्माण गरिएको हो । जिल्लाका लागि फल्चा नयाँ संरचना हो । पहाडी जिल्लामा पनि पुराना संरचना पौवाहरू भए पनि अहिले नयाँ ढङ्गले प्रतीक्षालयका रूपमा फल्चा निर्माण हुँदै आएका रेसुङ्गाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । 

    उहाँका अनुसार तम्घासमा भने कारागारका कैदीबन्दीको काष्ठकला प्रयोग गरेर निर्माण गरिएको छ । “बसपार्क नजिक इन्द्रवीर थापाले निर्माण गरेको १५० वर्ष पुरानो इन्द्र पौवा थियो । यो पौवा जीर्ण भएपछि सोही ठाउँमा अहिले फल्चा निर्माण गरिएको छ”, उहाँले भन्नुभयो ।  

    यो पौवाको गरिमाको विषयमा केही आलोचना भए पनि आधुनिकताका नाममा पुराना कला र संस्कृति लोप हुँदै गएपछि पौवाको ठाउँमा फल्चा निर्माण गरिएको नगरप्रमुख पन्थीले बताउनुभयो । कैदीबन्दीको सीपको प्रदर्शन र स्थानीय सामग्रीको उपयोगबाट पुरानै काष्ठकलामार्फत फल्चा निर्माण गरिएको जनाउँदै उहाँले गत वर्ष एउटा र अहिले दुई वटा फल्चा निर्माण थालिएको उल्लेख गर्नुभयो ।  

    ट्राफिक कार्यालय अगाडि निर्माण भएको फल्चाका कारण पैदलयात्री तथा ट्राफिक कार्यालयमा आएका सेवाग्राहीलाई फल्चा विश्रामस्थल बनेको छ । काष्ठकलामा निकै अब्बल कैदीबन्दीका सामग्री पछिल्लो समय सरकारी तथा गैरसरकारी थुप्रै संरचनामा प्रयोग हुँदै आएका छन् । नगरले काफलपानी निर्माण सेवामार्फत कैदीबन्दीले निर्माण गरेको काष्ठ सामग्री फल्चामा प्रयोग गरेको हो । दुई वटा फल्चा १०÷१० लाखको लागतमा निर्माण भएको नगरपालिकाले जनाएको छ । 

    गुल्मी कारागारका चौकीदार हरि थापाले आफूहरूले बाहिर निर्माण गर्दा लाग्ने लागतको ५० प्रतिशत कममा फल्चासहितका पूर्वाधारमा काम गरेको बताउनुभयो । पछिल्लो समय कारागारमा काष्ठकला र फर्निचरको काममा हुँदै आएको छ । वार्षिक रु तीन करोड ५० लाखभन्दा बढीको कारोबार हुने कारागारबाट कैदीबन्दीले न्यूनतम रु सात हजारदेखि रु ४५ हजारसम्म कमाउने गरेका उहाँले जानकारी दिनुभयो ।

    थापाले विद्यालय, मन्दिर, गाउँपालिका भवन, सभाहललगायत ठाउँमा कारागारको सीप प्रयोग भएको बताउनुभयो । उहाँले भन्नुभयो, “फल्चामा पनि उत्कृष्ट मेहनत गरेका छौँ । सस्तो र गुणस्तरीय भएकाले फल्चाबाहेक थुप्रै सरकारी संरचनामा कैदीबन्दीको सीप पुगेको छ ।” 

    “कारागारमा सबैभन्दा बढी मूल्यपर्ने अष्टनागको आकृतिसहित सालको काठको चौकोश निर्माण हुन्छ । जसको मूल्य रु आठ लाख पर्दछ । एउटा चौकोश निर्माण गर्न तीन जना जनशक्तिले एक महिनामा काम गर्नुपर्छ । त्यस्तै, भक्तपुरे आँखी झ्याल, फोटो फ्रेम, दराज टेबलसहितका आवश्यक सबै फर्निचर सामग्री निर्माण गर्ने गरिएको छ”, थापाले भन्नुभयो । 

    त्यस्तै, नेपालको प्रसिद्ध धाम रुरुक्षेत्रमा भरतपुर महानगरपालिका र रुरुक्षेत्र गाउँपालिकाको साझेदारीमा आकर्षक फल्चा निर्माण गरिएको छ । रुरु क्षेत्र गाउँपालिका–१, रिडीमा फल्चा निर्माण गरिएको हो । नीलकण्ठ कन्स्ट्रक्सनले रु ३२ लाख २६ हजार ८९१ को लागतमा फल्चा निर्माणको सम्झौता गरेर फल्चा निर्माण गरेको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो ।

    रुरुक्षेत्र गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध गाँसिएको छ । सोही सम्बन्धका कारण रुरुक्षेत्र गाउँपालिका र भरतपुर महानगरपालिकाबीच ५०–५० प्रतिशत रकम साझेदारीमा रिडीमा फल्चा, विष्णु मूर्तिसहितका पर्यटकीय संरचना निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष ज्ञवालीले बताउनुभयो । रिडी बजार र कालीगण्डकी तटीय क्षेत्रलाई केन्द्रमा राखेर संरचना निर्माण तथा पुराना संरचना संरक्षण एवं लामाचौपारीमा ठूलो मन्दिर निर्माण कार्यसमेत अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । 

    अध्यक्ष ज्ञवालीले रुरुक्षेत्र धाम आफैँमा प्रसिद्ध भए पनि आवश्यक पर्यटकीय संरचना निर्माणको काममा आफूहरूले चासो दिएको बताउनुभयो । फाल्चा निर्माणसँगै यात्रुलाई आश्रम लिन सहज हुनुका साथै मौलिक सीपबाट बनाइएकाले हाम्रा सम्पदाको प्रचारप्रसार हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । यो पर्यटन प्रवर्द्धनका लागि पनि महत्त्वपूर्ण कदम हुने उहाँको भनाइ छ ।