काठमाडौँ, २८ असोज : नेपाल वायुसेवा निगमले यात्रु सङ्ख्या कम भएको कारण अक्टोबर १९ को काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द गरिएको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित उडान तालिकाबमोजिम १९ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिनुभयो । उक्त उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिएको समेत निगमले जनाएको छ ।
निगमले काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ सेक्टरको नियमित उडान तालिकाबमोजिम १६ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ उडानमा ६८ यात्रु र १७ अक्टोबरका लागि ग्वाञ्जाओ—काठमाडौंँ उडानमा ४१ यात्रुहरुको टिकट बिक्री भइसकेको जनाएको छ ।
यसैगरी, २३ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ र २४ अक्टोबरको ग्वाञ्जाओ—काठमाडौँ उडानमा क्रमशः ९३ र २० वटा टिकट बिक्री भइसकेको निगमको भनाइ छ ।
उक्त गन्तव्य नेपालका लागि नयाँ भएको र सो गन्तव्यको पूर्णरुपमा प्रचारप्रसार भइनसकेको हुँदा यात्रुहरुलाई सुसूचित गर्ने कार्य जारी रहेको निगमको भनाइ छ । सो गन्तव्यमा यात्रा गर्ने प्रयोजनका लागि टिकट बुकिङ गर्नेको सङ्ख्या वृद्धि भइरहेको सन्दर्भमा उक्त रुटलाई सफल बनाउन आमसञ्चारमाध्यमलगायत सम्बद्ध सबैसँग निगमले आग्रह गरेको छ ।