असोज २८, २०८२ मंगलबार

काठमाडौँ, २८ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले सिक्दै र कमाउँदै कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधनको खबरले आफू मर्माहत भएको बताउनुभएको छ ।

    उहाँले आज सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाइको लागि आफूले समेत पटकपटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात् जोशीको निधन भएको खबरले स्तब्ध भएको उल्लेख गर्नुभएको हो ।

    राष्ट्रपति पौडेलले जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दुःखको यस घडीमा शोकाकूल परिवारजन र सबै शुभेच्छुकमा समवेदना प्रकट गर्नुभएको छ ।