सुदूरपश्चिम, २८ असोजः सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको पहिलो बैठकले विभिन्न क्षेत्रका विज्ञहरूलाई विश्वविद्यालय सभाको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ ।
विश्वविद्यलयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनको अध्यक्षता र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा आज काठमाडौँमा बसेको बैठकले उपकुलपतिमध्येबाट सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा हेमराज पन्तलाई विश्वविद्यालय सभाको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
यसैगरी प्रा डा जयराज अवस्थी (दार्चुला), प्रा डा अम्मरराज जोशी (बझाङ), डा लवदेव अवस्थी (बैतडी), प्रा डा सङ्गीता राजभण्डारी (काठमाडौँ), डा डम्बरबहादुर पाल (दार्चुला) र सहप्राध्यापक अनुराधा रोकाया(कञ्चनपुर)लाई पनि विश्वविद्यालय सभाको सदस्यमा मनोनीत गरिएको छ ।
बैठकले विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको नियुक्तिको लागि सिफारिस गर्न प्रा डा जयराज अवस्थीको संयोजकत्वमा प्रा डा दीपक महरा र प्रा डा भारती जोशी सदस्य रहेको सिफारिस समिति गठन गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्रीका जनसम्पर्क तथा प्रेस सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो ।
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन २०८२ को परिच्छेद ४ मा प्रदेश सरकारका मुख्यमन्त्री विश्वविद्यालय सभाको सदस्य रहने व्यवस्था छ । यस्तै, स्वास्थ्य विज्ञानसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने अन्य विश्वविद्यालयका उपकुलपतिमध्येबाट एक जनालाई विश्वविद्यालय सभाको सदस्य मनोनीत गर्नुपर्ने व्यवस्था छ ।
यसैगरी विज्ञान प्रविधि, व्यवस्थापन, कानुन, शिक्षा, समाजशास्त्र, मानवशास्त्रका विज्ञमध्ये विश्वविद्यालय सभा सदस्यमा मनोनीत गर्नुपर्ने व्यवस्थासमेत ऐनमा छ ।