असोज ३०, २०८२ बिहिबार

काठमाडौँ, ३० असोज : जेनजी आन्दोलनका अगुवाहरुले वर्तमान सरकारप्रति विश्वास र भरोसा रहेकाले मुलुकलाई सही मार्गमा डोहोर्याएर लैजानेमा आशावादी रहेको प्रतिक्रिया दिएका छन् । भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको आन्दोलनको जगमा बनेको सरकार भएकाले ती मुद्दामा जनतालाई आशा जगाउनेगरी काम गर्न उनीहरुको सुझाव छ ।

    उनीहरुको भनाइ छ, “आन्दोलनको मर्मअनुरुप सरकारले काम गरिरहेको हाम्रो विश्वास छ । गरिएका काम प्रणालीगत र पारदर्शिता हुनुपर्छ । जसबाट सरकारको जवाफदेहिता बढ्छ । आन्दोलनलाई संस्थागत गर्दै इतिहास लेखाउने गरी सरकारले काम गर्नुपर्छ ।”

    सरकार गठन भएको एक महिना पुगेको सन्दर्भमा आन्दोलनका केही अगुवाहरुले राससलाई दिएको प्रतिक्रियाको सम्पादित अंशः

सरकारले लय समातेको छ : ओजस्वी भट्टराई

    देशमा भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा उभिएका हामी जेनजी  आन्दोलनसँग एकाकार छौँ । हामीले उठाएका मागलाई कसरी सम्बोधन गर्ने भनी २९ बुँदे मार्ग निर्देशनसहित अवधारणा बनाइएको थियो । त्यही मापदण्ड र निर्देशिकाभित्र रहेर समीक्षा गरिनुपर्छ । राज्यका तर्फबाट भदौ २३ गते मानवअधिकार उल्लङ्घन र २४ गते सङ्गठित अपराधका घटना भए । त्यसको निष्पक्ष छानबिन हुनुपर्छ । छानबिन समितिले अध्ययन र अनुगमन गरी न्यायका लागि सिफारिस, पीडितको परिपूरण र दीर्घकालीन सुधारको काम गर्नुपर्छ । आयोगमा जेनजी वा युवापुस्ताको प्रतिनिधित्वसहित समानुपातिक र लैङ्गिक समावेशी हुनुपर्छ भनिएको थियो । तर प्रतिनिधित्वको स्वरुप समावेशी हुनसकेन । अर्कातर्फ गठित आयोगको कार्यादेश अस्पष्ट र सीमित भयो । परिपूरणको पनि त्यत्ति धेरै जिम्मेवारी दिइएन । यसलाई  विकेन्द्रीकरण गरिनुपर्ने थियो । आयोगलाई समन्वयकारी भूमिका राज्यले गरिदिएको भए उत्तम हुन्थ्यो । कार्यबोझ धेरै भयो ।

    सरकारले निश्चित पूर्वमन्त्री, संवैधानिक निकायका पूर्वपदाधिकारी, न्यायाधीश, प्रदेश सरकारका मन्त्री, नेपाल सरकारका उच्चपदस्थ अधिकृतको सम्पत्ति विवरण माग गरी ९० दिनभित्र छानबिन गर्नुपर्छ भन्ने हाम्रो माग छ । त्यो विषय पारदर्शी  ढङ्गबाट अघि बढाइनुपर्छ । सरकारले त्यसमा काम गरिरहेकै छ भन्ने अनुमान र  विश्वास छ । पारदर्शी ढङ्गबाट गरिएको कामको परिणाम उत्तम हुन्छ भन्ने लाग्छ । 

    देशमा भ्रष्टाचारसम्बन्धी कानुनमा सुधारको आवश्यकता छ । उदाहरणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र मन्त्रिपरिषद्बाट भएका निर्णय पर्दैनन् । भ्रष्टाचारमा पाँच वर्षको हदम्यादको कुरा पनि छ । नीतिगत भ्रष्टाचारलाई कानुनले परिभाषित गर्दैन । जुन आवश्यक छ । यो खाडललाई सुधार गर्दै लैजानुपर्छ । यसका लागि जेनजी, युवा र विज्ञ रहेको बलियो कार्यदल बनाउनुपर्छ । जसबाट कानुन र प्रशासनमा सुधार ल्याउन सकिन्छ । त्यो सरकारले तत्काल अघि बढाओस् भन्ने हाम्रो चाहना छ । गरेको कामबारे जनतालाई निश्चित समयमा नियमित रूपमा जानकारी गराउने कार्य प्रारम्भ गरिनुपर्छ । सरकारका मन्त्री खुला र परदर्शी हिसाबले नियुक्ति भए राम्रो हुन्थ्यो । त्यसले सरकारको जवाफदेहिता बढ्थ्यो । त्यसमा हाम्रो चासो छ । तथापि, सरकारले अघि बढ्ने सन्दर्भमा लय भने समातेको छ ।

आन्दोलनमार्फत उठेका ऐजण्डा छिटो पूरा गरिनुपर्छः प्रवेश दाहाल

    आन्दोलनका जगमा बनेको सरकार भएकाले जनताका माग र ऐजण्डालाई सकेसम्म छिटो पूरा गर्नुपर्छ । आन्दोलन संस्थागत नभई गठन भए तापनि सरकारलाई आन्दोलन संस्थागत गर्नका निम्ति जेनजी समूहसँग छिटो सहजता निर्माण गरिनुपर्छ । सरकारले जनतालाई आशा दिलाउने काम गर्नुपर्छ । त्यसका लागि आमनागरिकका मागलाई विवेक पु्र्याएर छिटो सम्बोधन गर्न सक्नुपर्छ । मुलुकलाई सही मार्गमा डोहोर्याउनुर्छ । हामी यो सरकारप्रति आशावादी छौँ । सरकारले अब छिटो पूर्णता पाउनुपर्छ । मन्त्रालयगतस्तरमा गर्न पर्ने काम धेरै छन् । त्यसका निम्ति सहजता प्रदान गर्नुपर्छ । 

    स्वास्थ्य, शिक्षा, यातायात, रोजगार र गृह मन्त्रालयबाट सरकारले गर्नुपर्ने कामलाई सरल र सहजता दिलाउनुपर्छ । सरकारी कामकारबाही र  सुशासन प्रवर्द्धनमा देखिएका चुनौतीलाई सम्बोधन गर्न कर्मचारी, विद्यार्थी युनियनका विषयमा हाल भएको व्यवस्थामा पुनःविचार गरिनुपर्छ । सरकारले आफ्ना कामकारबाहीलाई प्राथमिकता निर्धारण गर्नुपर्छ ।

    आन्दोलनको जगमा बनेको सरकार भएकाले जनताले आशा पाउने काम गर्नुपर्छ । आन्दोलनलाई संस्थागत गरी सरकारलाई सशक्त तुल्याई इतिहासको पानामा लेख्ने काम गर्नुपर्छ ।