गण्डकी, ३० असोज : गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय स्वास्थ्य क्षेत्र सुधारमा जुटेको छ । सुधारका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएको मन्त्रालय चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनमा जुटेको हो । कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट तथा कार्यसञ्चालन निर्देशिका र मापदण्ड तयार गरी सम्बन्धित निकाय तथा कार्यालयमा पठाइसकिएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिनुभयो ।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा उहाँले मन्त्रालय र मातहतका निकायहरूले तदारुकताका साथ कार्यक्रम कार्यान्वयन गर्ने बताउनुभयो । “कार्यक्रम कार्यान्वयनमा कहीँकतै ढिलासुस्ती भएमा मन्त्रालय, मेरो सचिवालय वा म स्वयंलाई सम्पर्क गर्न अनुरोध गर्दछु”, मन्त्री पाठकले भन्नुभयो, “बजेट तथा कार्यक्रमको कार्यान्वयनबाट गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।”
मन्त्री पाठकले प्रदेशको स्वास्थ्य क्षेत्र सुधारमा सिङ्गो प्रदेश सरकार र मन्त्रालयको नेतृत्वले गत वर्षदेखि पहल थालेको बताउनुभयो । उहाँले चालु आवमा स्वास्थ्यका ४३ वटा कार्यक्रम कार्यान्वयन हुने जानकारी दिनुभयो । तीमध्ये केही कार्यक्रम पहिलोपटक गण्डकी प्रदेशमा लागू हुन लागेका छन् । मन्त्रालयले गत वर्ष प्रदेश मातहतका नौ अस्पताल स्तरोन्नति गरेको थियो । प्रदेश सरकारअन्तर्गतका कूल १४ अस्पतालको स्वीकृत शय्या सङ्ख्या तीन सयबाट बढाएर ७५० पुर्याइएको उहाँको भनाइ छ ।
“अस्पताल स्तरोन्नतिको निर्णयसँगै सम्बन्धित अस्पतालमा चिकित्सकको दरबन्दी थप, उपकरण, बजेट तथा कार्यक्रमको व्यवस्था गरी पठाइएको छ”, उहाँले भन्नुभयो, “मन्त्रालय मातहतका निकाय र जिल्लास्तरका कार्यालयहरूको संरचनागत हेरफर गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) मन्त्रिपरिषद्बाट स्वीकृत गरी कार्यान्वयनमा गइसकेको छ ।”
धवलागिरि, गोरखा र मध्यविन्दु प्रदेश अस्पतालमा आँखा उपचार शिविर एवं मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाका लागि बजेट विनियोजन गरिएको मन्त्रालयका निमित्तसचिव डा रमेशकुमार केसीले बताउनुभयो । धवलागिरि आयुर्वेद अस्पताल, गण्डकी आयुर्वेद अस्पताल र प्रदेश आयुर्वेद चिकित्सालय तनहुँमा गुदारोगको निःशुल्क स्क्रिनिङ तथा उपचार सेवा सुरु गरिने उहाँको भनाइ छ ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि यातायात तथा सञ्चार खर्च उपलब्ध गराइने भएको छ । मुस्ताङ र मनाङको उच्च हिमाली भेगमा उच्च भेगीय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
क्यान्सरका बिरामीको उपचारका लागि प्रदेश सरकारका तर्फबाट थप रु एक लाख उपलब्ध गराउनेगरी देशका विभिन्न छवटा अस्पतालसँग क्यान्सर उपचार सहायता कार्यक्रमको सम्झौता भइसकेको मन्त्रालयका निमित्तसचिव डा केसीले बताउनुभयो । गर्भवती तथा नवशिशुहरूको ज्यान जोखिममा परेमा तत्काल निःशुल्क हवाई उद्धार गर्नेगरी मन्त्रिपरिषद्बाट निर्देशिका स्वीकृत भई कार्यान्वयनमा गएको उहाँको भनाइ छ ।
मन्त्रालयले गण्डकी प्रदेशभित्रका सहिद, बेपत्ताका परिवार, द्वन्द्वपीडित, विभिन्न आन्दोलनका घाइते, अपाङ्गता भएका व्यक्तिहरू, मिर्गाैलापीडित, यौनिक अल्पसङ्ख्यकको निःशुल्क स्वास्थ्य बीमा गरिएको जनाएको छ । यस वर्षदेखि प्रदेशभित्रका पत्रकारहरूको पनि निःशुल्क स्वास्थ्य बीमा प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित अस्पतालबाटै प्रोत्साहन सुविधा पाउनेगरी मनाङ, मुस्ताङ, बागलुङको बुर्तिबाङ र गोरखाको आँपपिपल अस्पतालमा विशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यक्रम लागू गरिएको निमित्तसचिव डा केसीले बताउनुभयो ।