असोज ३०, २०८२ बिहिबार

काठमाडौँ, ३० असोज : आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउन सरकार, निर्वाचन आयोग र राजनीतिक दलबीच त्रिपक्षीय संवाद गर्नुपर्नेमा दलहरूले जोड दिएका छन् ।

आसन्न निर्वाचनका विषयमा आज आयोगले राजनीतिक दलहरूसँग गरेको छलफलमा सहभागीले सरकारले दलहरूसँग अन्तरसंवाद गर्नुपर्ने र निर्वाचनको पूर्ववातावरण तयार गर्नुपर्ने बताएका हुन् । छलफलमा सहभागी नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले जेनजी आन्दोलनको मर्मलाई आत्मसात् गर्दै प्रतिशोधी भावना हटाएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताउनुभयो । विशेष परिस्थितिमा बाटो बिराएको संविधानलाई सही बाटोमा ल्याउने एक आधार निर्वाचन हुनसक्ने भए पनि सरकारले हालसम्म सहज वातावरण सृजनाका लागि आफूहरूसँग समन्वय नगरेको गुनासो गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष गुरुप्रसाद बरालले राजनीतिक दलका नेतालाई स्थान हद तोक्ने, राहदानी रोक्का गर्ने र जुलुस, सभा गर्न नदिनेजस्ता सरकारका निर्णय निर्वाचनको वातावरणका लागि बाधक भएको धारणा राख्नुभयो । उहाँले फरार कैदीलाई नियन्त्रणमा लिन र लुटिएका हतियार जफत गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न माग गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले जे–जसरी निर्वाचन घोषणा भए पनि आफूहरू निर्वाचनमा जान तयार भएको तर सरकारले दलहरूलाई विश्वासमा लिन नसकेको टिप्पणी गर्नुभयो । उहाँले सरकारले राष्ट्रिय सुरक्षा दिन सकेमा मात्र निर्वाचन सफल हुने बताउनुभयो ।

कतिपय साना दलका प्रतिनिधिले सरकार र आयोगले ठूला दललाई अनुकूल व्यवहार गर्दै आएको गुनासो गर्दै अबका दिनमा त्यस्तो नगर्न ध्यानाकर्षण गराए ।

आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गरेकासहित २९ दललाई छलफलमा बोलाएको थियो । छलफलमा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता, आगामी माघ ११ मा प्रस्तावित राष्ट्रियसभाको १८ सदस्यको निर्वाचन, मतदाता नामावली, मतदातास्थल तथा मतदान केन्द्र र राजनीतिक दलसँग आयोगले राखेको अपेक्षाका विषयमा छलफल गरिएको थियो ।