काठमाडौँ, १ कात्तिक: बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप दिइएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले बारा र पर्सा दुवै जिल्लाको १० लाख १८ हजार ६० लक्षित जनसङ्ख्यामध्ये सात लाख २३ हजार ८३६ ले खोप लिइसकेको जानकारी दिनुभयो ।
खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप अभियानको प्रारम्भिक तथ्याङ्कमा पर्सामा अभियान सुरु भएको छैँठो दिनमा छ लाख ५२ हजार १२९ जनामा हालसम्म चार लाख ५६ हजार ७७८ जनाले खोप लिइसकेका छन् । यसैगरी बारामा तीन लाख ६५ हजार ९३१ मा दुई लाख ६७ हजार ५८ जनाले खोप लिइसकेका छन् ।
पर्सामा फैलिएको हैजा महामारीको प्रतिकार्यस्वरूप जिल्लाका सबै स्थानीय तह र पर्सासँग सिमाना जोडिएका बाराका छ वटा स्थानीय तहहरु, कलैया उप–महानगरपालिका, जितपुर–सिमरा उप–महानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिकामा एक वर्ष उमेर माथिका सबैलाई हैजाविरुद्ध खोप दिइँदैछ ।
असोज २६ देखि पर्सा र २७ देखि बारामा सुरु भएको अभियान हाल सबै स्थानीय तहमा उत्साहका साथ सञ्चालन भइरहेको खोप शाखा प्रमुख डा गौतमले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो,“हाललाई भोलिसम्म अभियानलाई निरन्तरता दिन्छाँै । कति सकिन्छ त्यसका आधारमा तिहारपछि सञ्चालन गर्ने योजना छ ।”
नेपाल सरकारले पर्सा र बारामा देखिएको हैजा महामारीको उच्च जोखिमलाई ध्यानमा राखी खोप अभियान सञ्चालन गरेको हो । सरकारी तथा गैरसरकारी सङ्घ–संस्थाका कार्यालय, नियमित खोप सेवा सञ्चालन गर्ने बाह्य खोप केन्द्र, मन्दिर, मस्जिद, बसपार्क, नेपाल–भारत सिमानाका मुख्य नाका, उद्योग, कारखाना, इँट्टाभठ्ठा जस्ता स्थानहरूबाट खोप खुवाइँदै छ ।