कात्तिक १, २०८२ शनिबार

भक्तपुर, १ कात्तिक: यस पटकको तिहारमा सयपत्री र मखमली फूलको मूल्य वृद्धि भएको छ । घरघरमै व्यापारी र बिचौलिया फूल लिन आउन थालेपछि मूल्य वृद्धि भएको हो । 

भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुदेखि चाँगुनारायण नगरपालिका–९ ताथलीसम्मका किसानलाई प्रतिस्पर्धामा व्यापारीले घरघरमै गएर मूल्य बढी तिरेर फूल लिइरहेका छन् ।  

आइतबारदेखि तिहार सुरु हुँदैछ । तिहारको संघारमा फूल र मालाको मूल्य वृद्धि भएपछि उपभोक्ता भने मारमा परेका छन् । व्यापारीले आज एउटा मखमली फूलको माला रु ८० मा बिक्री गरिरहेका छन् । गुण्डुका किसानबाट भने शुक्रबारसम्म मखिमली फूलको प्रतिमाला रु २२ देखि रु २५ सम्मम खरिद गरेका किसानहरूले जनाएका छन् । 

    गुण्डुका पुष्प व्यवसायी रामेश्वर बस्नेतले आजबाट घरदैलोमा आएका व्यापारीले किसानबाट रु ३० देखि रु ३५ मै मखमली फूलको माला लिन थालेको र  बजारमा प्रतिमाला रु ८० देखि रु ९० मा बिक्री गर्न थालेको बताउनुभयो । किसानले भन्दा व्यापारी र बिचौलियाले तेब्बर मूल्यमा बिक्री गर्न थालेपछि उपभोक्ता मारमा परेको उहाँले गुनासो गर्नुभयो । 

    चाँगुनारायण–९  का स्थानीय पुष्प कृषकले रु ३० मा माला बिक्री गरेकामा तिहार आएसँगै मूल्य बढेको बताएका छन् । भक्तपुरको गुण्डुकी मीना नगरकोटीले १५ वर्षदेखि व्यावसायिक रूपमा फूल तथा माला बिक्री गर्दै आउनुभएको छ । यसपटक तिहार आएसँगै व्यापारी र बिचौलिया नै प्रतिस्र्धामा मूल्य बढाएर किसानको घरघरबाटै फूल उठाउन थालेको उहाँले बताउनुभयो ।  

    स्थाननीय उर्मिला नगरकोटी तिहारको बेला फूल र मालाको व्यापारबाटै एउटा परिवारले रु एक लाखदेखि रु तीन लाखसम्म आम्दानी गर्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार गुण्डुबाट मात्रै एक वर्षमा रु पाँच करोडभन्दा बढीको फूल उत्पादन तथा बिक्री हुने गरेको छ । 

स्थानीय अनिता बस्नेतले यसवर्ष आफ्नो साडे दुई रोपनी जग्गामा गरेको फूलखेतीबाट रु तीन लाख आम्दानी गरेको बताउनुभयो । सयपत्री फूललाई स्थानीयले मुठा बनाएर बिक्री गर्ने गरेका छन् । चार–पाँच वटा सयपत्री फूलको मुठा पारेर एक मुठाको रु २० देखि रु २५ सम्ममा बिक्री हुने गरेको उहाँले सुनाउनुभयो । 

सयपत्री फूललाई पाथी तथा ढ्वाङ्मा भरेर पनि बिक्री गरिन्छ । ढ्वाङ्मा करिब तीन पाथीभन्दा बढी हुन्छ । किसानले सयपत्री ढ्वाङ्को रु सात सयसम्म बिक्री गरेको र बजारमा भने किलोमा रु चार सयदेखि पाँच सयमा बिक्री हुने गरेको बस्नेतले बताउनुभयो । 

    यहाँका कृषकले एकैघरबाट रु ३० हजारदेखि तीन लाखसम्मको सयपत्री फूल बिक्री गर्ने गरेका छन् । 

    मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित पूजा पसल सञ्चालक कमलनाथ पौडेलले सयपत्री फूल किलोको रु ४५० मा र मखमली फूलको माला रु ७० मा बिक्री भइरहेको बताउनुभयो । फूलको मूल्य भोलीबाट अझै बढेर आउने उहाँले बताउनुभयो । 

यसवर्ष लामो झरी र वर्षातका कारण सयपत्री फूल मरेर उत्पादन कम भएपछि महँगो भएको पुष्प व्यवसायी रामेश्वर बासीले बताउनुभयो । उहाँले टनेल बाहिर खल्ला रूपमा भएका फूलखेती सबै नष्ट भएको र टनेलमा लगाएको फूल बजारमा आएकाले मूल्य वृद्धि भएको बताउनुभयो ।