कात्तिक १, २०८२ शनिबार

काठमाडौँ, १ कात्तिकः नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिएबापत प्राप्त रकमबाट कट्टा गरी स्थापना गरिएको सैनिक कल्याणकारी कोषबाट १० लाखभन्दा बढी हिताधिकारी लाभाविन्त भएको नेपाली सेनाले जनाएको छ ।

    सेनाले विसं २०३२ मा सैनिक कल्याणकारी कोषको स्थापना गरी सङ्गठनमा कार्यरत सकलदर्जा तथा अवकाश प्राप्त सैनिक र सम्पूर्ण आश्रित परिवारलाई विभिन्न सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

    गत असार मसान्तसम्ममा कोषको नगद मौज्दात रु ७९ अर्ब तीन करोड २५ लाख र लगानी रु सात अर्ब ७१ करोड ५३ लाख गरी कूल सम्पत्ति रु ८६ अर्ब ७४ करोड ७८ लाख रहेको सेनाले जनाएको छ ।
 
    सेनाले कोषबाट आफ्ना हिताधिकारिलाई शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतमा आधारित रही विभिन्न सेवा तथा सुविधा उपलब्ध गराउँदै आइएको युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिनुभयो ।

    कल्याणकारी सुविधामध्ये शिक्षातर्फ हाल १२ वटा महाविद्यालय÷विद्यालय, चिकित्सा, पोलिटेक्निक र कृषि गरी पाँच वटा प्राविधिक शिक्षालय र २४० वटा विद्यालयमार्फत हिताधिकारीलाई सुविधा प्रदान गरिएको सेनाले जनाएको छ ।
 
    स्वास्थ्य सेवातर्फ काठमाडौँ उपत्यकामा वीरेन्द्र अस्पताल, उपत्यका बाहिर तीन वटा सैनिक अस्पताल र तीन वटा फिल्ड अस्पतालहरु सञ्चालनमा छन् । जटिल प्रकृतिको रोग लागेका ५३० जना हिताधिकारी स्वास्थ्य सुविधाबाट लाभान्वित भसकेका छन् ।
 
    आर्थिक वर्ष २०८१÷८२ मा चार लाख ७६ हजार ३४८ जनालाई रु ७६ करोड ४५ लाख ४० हजार ८०७ बराबरको औषधि तथा औषधिजन्य सामग्री वितरण गरिएको सेनाले जनाएको छ । हालसम्म एक हजार ५८४ जनालाई रु ४० करोड ७५ लाख २० हजार स्वास्थ्य बिमाबापतको सहुलियत रकम प्रदान गरिएको छ ।
 
    सेनाले सकल दर्जालाई आवास कर्जा, महत्वपूर्ण घडेरी कर्जा, परिवार आवास, सुपथ मूल्य क्यान्टिन, लघुवित्त कर्जा र सवारी कर्जा उपलब्ध गराउँदै आएको छ ।
 
    हाल १० वटा मिसनमा ५३८ महिला सैनिकसहित कूल पाँच हजार ८२० जना शान्ति सैनिक तैनाथ रहेका निर्देशक थापाले जानकारी दिनुभयो । विश्व शान्ति स्थापनार्थ खटिइएका ७४ सैनिकहरुले जीवनोत्सर्ग गरेका छन् । हाल नेपाली सेना शान्ति स्थापना कार्यका लागि फौज खटाउने राष्ट्रहरुको सूचीमा पहिलो स्थानमा रहेको छ भने महिला सैनिकको सहभागितामा अग्रस्थानमा रहेको छ ।---