कात्तिक १, २०८२ शनिबार

काठमाडौँ, १ कात्तिकः कवि तथा गीतकार दिनेश अधिकारी सम्मानित हुनुभएको छ । कवि अधिकारीको लेखन यात्राको स्वर्ण वर्षका अवसर पारेर ‘नझरेका फूलहरु’ संस्थाले उहाँलाई मोरङको बेलबारीमा सम्मान गरेको हो ।
 
    कार्यक्रममा कवि हेमन यात्री, देवान किराँती, पूरन याक्खा, अस्मिता बिष्ट, भरत वर्वरिक, रेखा सुवेदीलगायतले कवि अधिकारीको हालै प्रकाशित कविता सङ्ग्रह ‘पानीको परेड’बाट कवितावाचन गर्नुभएको थियो ।
 
    कवि मनु मन्जिलले कवि अधिकारी आफ्नो पुस्ताका अग्रणी कवि र गीतकार हुनुभएको उल्लेख गर्नुभयो । ‘नझरेका फूलहरु’ का प्रस्तोता केपी घिमिरेले  संस्थाको गतिविधिमाथि प्रकाश पार्दै कवि अधिकारीलाई सम्मान गर्न पाएकामा संस्था गौरवान्वित भएको धारणा राख्नुभयो ।
 
    कवि तथा गीतकार अधिकारीलाई सुन्न विभिन्न क्षेत्रका साहित्यकार र कलाकारको उपस्थिति थियो । कार्यक्रममा कवि अधिकारीले कविता र गीतका बारेमा सङ्क्षिप्त विचारसहित आफ्ना कविता र गीत वाचन गर्नुभएको थियो ।---