सिरहा, २ कात्तिकः मातृ तथा नवजात शिशुको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्न यहाँका पाँचवटा स्वास्थ्य संस्थामा सञ्चालित ‘बर्थिङ सेन्टर’हरूलाई विभिन्न प्रकारका प्रसूतिसम्बन्धी उपकरण र सामग्री हस्तान्तरण गरिएको छ ।
मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रमअन्तर्गत मिर्चैया अस्पताल, भलुवाही र बरियारपट्टि स्वास्थ्य चौकी, सुखीपुर आधारभूत अस्पताल तथा भगवानपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई शनिबार ती उपकरणहरू प्रदान गरिएको हो ।
स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको ‘वन हर्ट वल्र्डवाइड’को सहयोगमा प्रदान गरिएका सामग्रीमा आकस्मिक सेवाका लागि ट्रली, एएनसी बेड, रेफ्रिजेरेटर, प्रसूति बेडलगायतका आवश्यक स्वास्थ्य उपकरणहरू रहेका छन् । लहानस्थित होप फाउन्डेसनकी अध्यक्ष पार्वती सुब्बाका अनुसार यी उपकरणहरूले बर्थिङ सेन्टरमा सुरक्षित तथा प्रभावकारी सेवा दिन सहयोग पुग्नेछ ।
फाउन्डेसनका अनुसार भलुवाही स्वास्थ्य चौकीस्थित बर्थिङ सेन्टर र भगवानपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई २९÷२९, सुखीपुर आधारभूत अस्पताललाई ३४, बरियारपट्टि स्वास्थ्य चौकीस्थित बर्थिङ सेन्टर ३२ र मिर्चैया अस्पताललाई ४१ प्रकारका कुल रु छ लाख ५२ हजार ५८२ बराबरको प्रसूतिसम्बन्धी उपकरण र सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
फाउन्डेसनका सचिव सञ्जय चौधरीका अनुसार स्वास्थ्य संस्थामा गरिने प्रसूति सुरक्षित हुने भएकाले सोको प्रोत्साहन गर्न स्वास्थ्य चौकी, आधारभूत अस्पताल तथा बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन भइरहेको छ ।