बागमती, २ कात्तिकः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गरिबमुखी, गाउँमुखी, विकासमुखी र जनमुखी काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले आफू गरिबमुखी, गाउँमुखी, विकासमुखी र जनमुखी काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो । “हामीले राजनीति मानवता र मानवको सेवाका लागि गर्ने हो,” उहाँले भन्नुभयो, “नेता बिपी कोइरालाले भन्नुहुन्थ्यो, गरिबलाई न्याय र आयको सिद्धान्तलाई अङ्गीकार गरेर अघि बढिरहेका छौँ ।” बिपीको त्यही भनाइअनुसार आफू सधैँ गरिब, विपन्न समुदायको हितमा काम गर्दै आएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री बानियाँले आफ्नो व्यक्तिगत लगानी र तलब भत्ता सुविधाबाट मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा थप दुईवटा घर निर्माण भइरहेको बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले पदभार ग्रहण गर्ने क्रममा आफ्नो तलब भत्ता सुविधाबाट मनहरी गाउँपालिकाका एक जना विपन्नलाई घर बनाई दिने घोषणा गर्नुभएको थियो । सोही घोषणा अनुसार रु चार लाख ६५ हजारमा तीनवटा कोठा, शौचालय, बत्ती र पानीसहितको सुविधासम्पन्न घर निर्माण गरी आज एकल महिला मिठुमाया सुनारको हस्तान्तरण गरिएको हो ।
सो अवसरमा मुख्यमन्त्री बानियाँले बाख्रापालन गरी जीविकोपार्जन गर्दै आउनुभएका सुनारलाई रु २० हजार नगद आर्थिक सहयोगसमेत प्रदान गर्नुभयो ।