कात्तिक ३, २०८२ सोमबार

म्याग्दी, ३ कात्तिक : घुम्ती गोठमा पशुपालन गर्ने म्याग्दीका किसानहरूले सुरक्षा र सहयोगका लागि कुकुर पाल्ने चलन छ । महिनौँसम्म एक्लै जङ्गलमा बस्ने गोठालाहरूको साथी बनेका कुकुरले चितुवा, ब्याँसो, भालु, स्याललगायत जङ्गली जनावरको आक्रमणबाट बचाएर भेडाबाख्राको सुरक्षा गर्छन् । कुकुर बिनाका भेडाबाख्रा, च्याङग्रा, चौरी, गाईभैसीको गोठनै हुँदैनन् । सहरबजारमा सोखका लागि कुकुर पाल्ने गरिए पनि विकट र दूर्गम क्षेत्रका किसानका लागि कुकुर पाल्नु अनिवार्य जस्तै हो । 
    
    राति, साँझ र बिहान गोठको वरपर रुगेर पहरा दिने कुकुरले जङ्गली जनावर र चोर आएको थाहा पाएपछि चर्को स्वरमा भुकेर संकेत गर्र्ने, लखेट्ने तथा भिडेर कृषकलाई सहयोग गर्ने धवलागिरी गाउँपालिका–१ गुर्जाका ८० वर्षीय नरबहादुर छन्त्यालले बताउनुभयो । 

    “कुकुरबिनाको गोठालाको कल्पनानै गर्न सकिँदैन,” ६८ वर्षदेखि गोठाला गर्दै आएका नरबहादुरले भन्नुभयो, “पशुहरू जङ्गलमा चराउन लैजाँदा उनीहरूको पछिपछि डुल्ने कुकुरले अप्ठ्यारो भिरमा जान दिदैनन् । साँझ पर्न लाग्यो भने खेदेर गोठमा फर्काउँछ । चितुवा, ब्वासो, स्याल देखेपछि भूकेर सूचना दिन्छ । आक्रमण गर्न आउन जङ्गली जनावरलाई भगाउँछन् ।”

    पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको बुकीमा भेडापालन गर्दै आउनुभएका धवलागिरी गाउँपालिका–३ मुनाका लिलबहादुर पुनको गोठको सुरक्षा कुकुरले गर्छन् । ६० वर्षदेखि भेडापालन गर्दै आउनुभएका ८३ वर्षीय पुनले भेडाबाख्रा र आफ्नो सुरक्षाका लागि तीन वटा ‘भोटे कुकुर’ पालेको बताउनुभयो । 

    कुकुरको सहयोग बिना गोठाला एक्लैले सयौँको सङ्ख्यामा रहेका गाई, भैसी, भेडाबाख्रा, च्याङग्राको रेखदेख गर्न नसक्ने भएकाले कुकुरलाई गोठालाको बफादार सहयोगी मान्ने गरिएको धवलागिरी गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालले बताउनुभयो । 

    म्याग्दी, मुस्ताङ र ढोरपाटनका गोठालाहरूले तीस किलोग्रामभन्दा बढी तौल हुने, अग्ला र ठूला शरिर भएका देख्दै डरलाग्दा कम्तिमा दुई वटा ‘भोटे कुकुर’ पालेका हुन्छन् । यस्ता कुकुरको छाउरालाइनै प्रतिगोटा रु १० हजारभन्दा बढी मूल्य पर्छ । 

    आफ्ना मालिकलाई माया गर्ने, जङ्गली जनावरको चाल छिटो सुन्ने र सुँघेर पत्ता लगाउने विशेषता भएका कुकुरले गोठालाको दैनिकीलाई सजिलो र सुरक्षित बनाएको कृषक नेत्रप्रसाद राम्जालीले बताउनुभयो ।  

    बिहान र बेलुका पिठोको खोलेका साथै भेडाको दूध र मासु गोठमा पालिने कुकुरका खाना हुन् । एक ठाउँमा १० देखि १५ दिन गोठ राखेर वरपरका खर्क र जङ्गलको घाँस खुवाएपछि अर्को ठाउँमा सार्ने चलन छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार जिल्लाभर २०० बढी गोठमा २० हजारको सङ्ख्यामा बरुवाल र भ्याङलुङ जातका भेडा पालिएको छ ।