कात्तिक ३, २०८२ सोमबार

पाटन (ललितपुर), ३ कात्तिकः नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चाडपर्वले हामीलाई आफ्नो मौलिकता र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्न निरन्तर प्रेरित गरिरहेको बतानउनुभएको छ । 

    नेपालीहरूको महान चाड तिहार तथा नेपाल संवत्को नयाँ वर्ष ११४६ को सुखद् अवसरमा शुभकामना सन्देशमार्फत कार्यवाहक सभापति खड्काले बागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थानकाल मानिने उल्लेख गर्दै नेपाल संवत् त्यही जागरणकालको इतिहास तथा संस्कृतिको एक जीवन्त धरोहर भएको बताउनुभयो ।

    “नेपाल संवत्को प्रारम्भ समाजसेवी शङ्खधर साख्वाद्वारा गरिब र पीडितको ऋणमोचनमार्फत गरिएको महान परोपकारी कार्यको सम्झनामा भएको हो, उदारता, समर्पण र योगदानको कदर गरेर सम्मान स्वरूप उहाँलाई राष्ट्रिय विभूतिका रूपमा सम्मानित गरेका छौँ, नेपाल संवत्ले हामीलाई आफ्नो मौलिकता र पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्न निरन्तर प्रेरित गरिरहेको छ”, कार्यवाहक सभापति खड्काले भन्नुभयो ।
    
    अन्धकारमाथि उज्यालोको विजयको प्रतीकको रुपमा मनाइने तिहार र हाम्रो आफ्नै धरतीबाट उठेको नेपाल संवत्को नयाँ दिनले हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सकोस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र चाड–पर्वहरू भएको मुलुक भएको उल्लेख गर्दै उहाँले यही विविधताभित्र रहेको हाम्रो सद्भाव र सहिष्णुताले नै  राष्ट्रिय एकतालाई अझ बलियो बनाएको बताउनुभयो ।