डुम्रे (तनहुँ), ३ कात्तिकः महाभारत पर्वत श्रृङ्खलाको उच्च भाग दुई हजार १३४ मिटर उचाईमा अवस्थित बुढीदेवी माई र छिम्केश्वरी माईको बृहत्तर विकास तथा प्रवद्र्धनका लागि महायज्ञ गरिने भएको छ । माता मनकामना र गोरखकालीलगायतका भगवतीका दिदीका रुपमा पूजिदै आइएका बुढीदेवी माई र छिम्केश्वरी माईको प्रवद्र्धन गर्न श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ गरिने भएको हो ।
आँबुखैरेनी गाउँपालिका–३ अमिलिबोटेमा कात्तिक ८ देखि १५ गतेसम्म सप्ताहव्यापी महायज्ञ गरिने छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष एवं छिम्केश्वरी–बुढीदेवी महायज्ञ मूल समारोह समिति संयोजक कृष्णमान तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार आँबुखैरेनी गाउँपालिका–५ स्थित बुढीदेवी–छिम्केश्वरी मन्दिरको प्रचारप्रसारको अभावमा ओझेलमा परेकाले प्रवर्द्धनका साथै भौतिक पूर्वाधार निर्माणमा टेवा पु¥याउने उद्देश्यले महायज्ञको आयोजना गर्न लागिएको हो ।
महायज्ञमा प्रवीण पण्डित दीनबन्धु पोखरेलले कथा वाचन गर्नुहुने संयोजक तामाङले बताउनुभयो । “महायज्ञको माध्यमबाट आँबुखैरेनीको विकट क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्नेछ । मन्दिरको पूर्वाधार निर्माणमा सहयोग पु¥याउने अपेक्षा गरेका छौं”, उहाँले भन्नुभयो । अधिकांश भगवतीको दर्शन तथा पूजाआराधना गरिए पनि दिदीका रुपमा परिचित बुढीदेवी माई र छिम्केश्वरी माईलाई पुजेपछि मनोकामना पूरा हुने विश्वास रहेको अध्यक्ष तामाङले सुनाउनुभयो ।
बुढीदेवी माई क्षेत्रमा मन्दिर संरक्षण गरी गुरुयोजना अनुसारको भौतिक निर्माण तथा ध्यान केन्द्र निर्माण गर्ने, राष्ट्रिय फूल लालिगुँरासलगायत जडीबुटी तथा वनस्पतीको संरक्षण गर्ने लक्ष्य राखिएको छ । पुरानो मूलको संरक्षण तथा आकाशे पानी सङ्कलन गर्ने, पैदलमार्ग स्तरोन्नति गरी ठाउँ–ठाउँमा सार्वजनिक शौचालय, विश्रामस्थल निर्माण, पिउनेपानीको व्यवस्था, पुजारीको व्यवस्थापन र अशक्त भक्तजनलाई मन्दिर दर्शन गर्न सहज हुने गरी सवारी पार्किङस्थलबाट माउण्टेन कोस्टर (मोनो रेल) निर्माण गर्ने योजना निर्धारण गरिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
आँबुखैरेनी गाउँपालिका–५ स्थित बढीदेवी माई र छिम्केश्वरी मन्दिर विसं १३४० को दशकमा स्थापना गरिएको अनुमान गरिएको छ । विसं १७५३ मा तनुहँका राजा दामोदर सेनले नाती (छोरी मल्लिकावतीका छोरा, गोरखाका राजा पृथ्वीपति शाहका नाती, युवराज वीरभद्र शाहका छोरा) नरभूपाल शाहलाई गोरखाको राजा हुन सहज होस् भन्ने कामनाका साथ छिम्केश्वरी भगवतीको पूजापाठ गरिएको भन्ने पाइएको उल्लेख गरिएको छ ।
आन्तिरिक तथा बाह्य पर्यटकको आकर्षणको रुपमा रहेको यस क्षेत्रलाई आस्था तथा विश्वासको केन्द्र बनाउनु आवश्यक रहेको र यस क्षेत्रको जनजीवनलाई आर्थिक सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका निवर्तमान अध्यक्ष गिरबहादुर थापाले बताउनुभयो । मन्दिर क्षेत्रको विकासले यस क्षेत्रको मुहार फेर्न मद्दत पुग्ने उहाँको भनाइ छ । राज्यको स्तरबाट हुने विकास निर्माणको कामभन्दा फरक ढङ्गले भौतिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिइएको बताउनुभयो ।
यस क्षेत्रमा धार्मिक पर्यटक भित्र्याएर स्थानीयवासीलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको जनाइएको छ । यस महायजमा सवारी दुर्घटनामा परी तथा जेनजी आन्दोलनको क्रममा मृत्यु भएका मृतात्माको वैकुण्ठवासको कामनासहित लाख बत्ती बाल्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।