गण्डकी, ५ कात्तिकः गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाल संवत्ले नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने बताउनुभएको छ ।
नेपाल संवत् ११४६ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस संवत्ले हामी सबैको एकतालाई मजबुत बनाओस् भनी कामना गर्नुभयो । नेपाल सम्वत् मौलिक सम्वत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट सुरु गरिएको उल्लेख गर्दै सन्देशमा भनिएको छ, “नेपाल संवत्ले हामीलाई परोपकारतर्फ प्रेरित गरोस्, उज्यालोतर्फ जान प्रेरित गरोस् र यस चाडले हामी सबैको एकतालाई मजबुत बनाओस् ।”
नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको स्मरण गर्दै प्रदेश प्रमुख भट्टले उहाँको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गरिएको उल्लेख गर्नुभएको छ । “नेपाल संवत्को प्रचलन र गरिबी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको ऐतिहासिक योगदानले राष्ट्रको गौरव बढाएकामा उहाँलाई राष्ट्रिय विभूति पदले सम्मानित गरिएको हो”, सन्देशमा भनिएको छ ।
शङ्खधर साख्वाले गरिबको ऋण मोचन गरिदिएको खुसियालीमा यो संवत् सुरु गरेको स्मरण गर्दै सन्देशमा उहाँले भन्नुुभएको छ, “साख्वाले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराइ स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गर्नुभयो, त्यसै अभिप्रायलाई पछ्याउँदै हामीलाई विपन्नताविरुद्ध, गरिबी विरुद्धको लड्न नेपाल संवत्को नयाँ वर्षले मद्दत पु¥याओस् ।”