डुम्रे (तनहुँ), ५ कात्तिकः लोपोन्मुख दरै (दराई) समुदायले सामूहिक फूलपाती भित्र्याएका छन् । यस समुदायले तीन दिनअघि गाउँभरका मृत्युवरण गरेका परिवारले सामूहिक रुपमा पितृ विसर्जन गरेपछि औँसीमा फूलपाती भित्र्याउने गर्दछन् ।
वर्षभर मृत्युवरण गरेका परिवारले पितृ विसर्जन गरेपछि पूजाआराधना, विवाह, व्रतबन्धलगायतका कार्यलाई खुल्ने गरेको नेपाल दरै उत्थान समाजका केन्द्रीय उपाध्यक्ष चीजबहादुर दरैले जानकारी दिनुभयो । उहाँका अनुसार समुदायका अग्रजको अनुसरण गर्दै आएको र पितृ विसर्जनपछि हर्षोल्लासका साथ फूलपाती भित्र्याउने गरिएको छ ।
उहाँले भन्नुभयो, “फुलो राखिसकिएपछि सहराइको गीत गाउँदै मादीसेती नदीमा लगेर सेलाउने गरिन्छ र तिहारको औँसीमा मात्रै हाम्रो समुदायको टीकाटालोलगायत धार्मिक तथा सांस्कृतिक कार्यका लागि खुल्छ ।” तिहारे औँसीमा मात्रै हामीले फूलपाती भित्र्याउने गरेको उपाध्यक्ष दरैले बताउनुभयो । फूलपाती सङ्कलन गर्दै गाउँ परिक्रमा गरी सामुदायिक भवनमा जम्मा भएर पूजा गरी फूलपाती टीकासहित सबैलाई दिइने प्रचलन रहेको छ ।
पितृलाई सेलाइएपछि यस समुदायमा सामूहिक रुपमा बरखी फुकाउने र टीकाटालो, मन्दिर जान, विवाहका लागि खुला हुने दरै समाज तनहुँका अध्यक्ष ठाकुरबहादुर दरैले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य समुदायले बडादसैँमा फूलपाती भित्र्याउने प्रचलन छभने हाम्रो समुदायमा तिहारमा फूलपाती भित्र्याइन्छ, पितृको विसर्जन बिना हामीले फूलपाती भित्र्याउँदैनौँ, यो परम्परा अन्य समुदायको भन्दा फरक रहेको छ ।”
पितृ विसर्जन गरेका परिवारलाई गाउँभरका सबैले टीकाटालो गरेपछि पूजा गरिएका फूलपाती घर लैजान दिने गरिन्छ । दिइएको फूलपाती घरमा पूजा गर्ने स्थानमा राखे धनधान्य तथा घरमा लक्ष्मीको बास हुनुका साथै सुख, शान्ति तथा समृद्धि हुने विश्वास रहिआएको उहाँले बताउनुभयो । यो परम्परा हालसम्म तनहुँ र चितवनमा मनाउने गरिएको छ भने अन्यत्र स्थानमा बसोबास गर्ने यो समुदाय बसाइँसराइले संस्कृति हराएको समेत उहाँले बताउनुभयो ।
जनगणना २०७८ को तथ्याङ्कअनुसार करिब २० हजार जनसङ्ख्या रहेको दरै समुदायको तनहुँ, चितवन, गोरखा, धादिङ, नवलपुरका साथै देशभरमा जम्मा १३ जिल्लामा दरै जातिको बसोबास रहेको छ । भाषा र संस्कार तनहुँ र चितवनमा गर्ने गरिएको छ भने अन्य जिल्लामा भाषा र संस्कार लोप भएको अवस्था रहेको अग्रज बताउँछन् ।