कात्तिक ६, २०८२ बिहिबार

लेखनाथ (कास्की) ६ कात्तिकः होटल सङ्घ पोखरा नेपालद्वारा तिहारको अवसरमा आज लेकसाइडमा आयोजना गरेको १८औँ भाइटीका महोत्सवमा एक सयभन्दा बढी पर्यटकले सहभागिता जनाएका छन् । 

    महोत्सवमा १५ भन्दा बढी देशका पर्यटकले भाइटीका लगाएका आयोजक सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । सङ्घले पोखरा र सिङ्गो नेपालको पर्यटन प्रवद्र्धन र संस्कृतिको संरक्षणका लागि विविध महोत्सव आयोजना गर्दैआएको उल्लेख गर्दै उहाँले यस पटक  भाइटीका महोत्सवमा पर्यटकको उल्लेख्य सहभागिताका कारण विशेष बन्न पुगेको बताउनुभयो । 

    महोत्सवमा ‘रेन्वो चिल्ड्रेन होम’का छात्राहरुले पर्यटकलाई टीका लगाइदिएका थिए । सहभागी पर्यटकलाई नेपाली ढाका टोपी र पछ्यौरा उपहार प्रदान गरिएको थियो । पर्यटकहरुले सेलरोटीलगायत नेपाली परिकार खानुका साथै देउसो भैलो पनि खेलेका थिए । 

    सप्तरङ्गी टीका लगाएका पर्यटकहरु नौलो अनुभव लिन पाएको भन्दै दङ्ग थिए । अष्ट्रेलियाबाट आउनुभएकी पर्यटक एनीले आफू धेरै पटक नेपाल आएको र यस पटक नेपाल आएर टीका लगाउन पाउँदा हर्षित भएको प्रतिक्रिया दिनुभयो । नेपाल सांस्कृतिक रुपमा धनी रहेको र नेपालीको अतिथि सत्कारबाट आफू प्रभावित भएको उहाँको भनाइ थियो । 

    संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो । पछिल्लो पटक देशको विषम परिस्थितिका कारण पर्यटन क्षेत्र समेत प्रभावित हुन पुगेको उल्लेख गर्दै महोत्सवले पर्यटनलाई पुरानै लयमा फर्काउन मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।