वीरगञ्ज, ८ कात्तिकः लेखिका चञ्चलाको राजद्वारा लिखित मिथिलामा विवाह परम्परासम्बन्धी पुस्तक ‘मिथिला में विवाह संस्कारक विशिष्ट परम्परा’ विमोचन गरिएको छ ।
आज यहाँ आयोजित एक कार्यक्रममा पूर्वमन्त्री लक्ष्मणलाल कर्णलगायतले सामूहिक रूपमा पुस्तक विमोचन गर्नुभएको हो । त्यस अवसरमा पूर्वमन्त्री कर्णले मिथिला विवाह परम्पराबारे लेखिएको यो पुस्तक आउँदो पुस्ताका लागि महत्वपूर्ण सन्दर्भ ग्रन्थ हुने बताउनुभयो ।
मिथिला क्षेत्रमा विवाहसम्बन्धी रीतिरिवाजबारे धेरै पुस्तक भए पनि केटा पक्ष र केटी पक्षबीच विवाहको कुराकानी सुरु भएको दिनदेखि चार दिनसम्म हुने परम्पराबारे र विदाइपछि केटा पक्षको घरमा चल्ने रीतिरिवाजबारे विस्तारपूर्वक लेखिएकाले विमोचित पुस्तक महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।
लेखिका राजले मिथिलामा हुने विशिष्ट विवाह परम्पराबारे सूक्ष्म अध्ययन गरेर यसको सामाजिक र वैज्ञानिक पक्षबारे जानकारी दिने आफ्नो उद्देश्यसहित पुस्तक लेखेको बताउनुभयो । उहाँले पाँच वर्ष लगाएर लेखिएको पुस्तक आगामी दिनमा मिथिला क्षेत्रमा हुने विवाह समारोहका लागि पनि महत्वपूर्ण सामग्री हुने विश्वास व्यक्त गर्नुभयो ।
पुस्तकको भूमिका मैथिलिकी प्रसिद्ध साहित्यकार र भारत सरकारको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्रीबाट सम्मानित साहित्यकार डा शेफालिका बर्माले लेख्नुभएको छ ।
पुस्तक विमोचन समारोहमा मधेस विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्य, लेखक तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष गणेश लाठ, चित्रगुप्त समिति पर्साका अध्यक्ष महेश दासलगायतको उपस्थिति रहेको थियो ।
---