कैलाली, ८ कात्तिकः छठ पूजा सेवा समिति धनगढीले हरेक वर्ष मनाउँदै छठपूजाको तयारी थालेको छ । यस वर्ष पनि धनगढी उपमहानगरपालिका-२ स्थित मोहना छठीघाटमा धुमधामसँग पर्व मनाउने तयारीमा समिति जुटेको हो ।
विगत लामो वर्षदेखि उक्त घाटमा छठपूजा कार्यक्रमको आयोजना गर्दै आएको समितिले यस वर्ष पनि तयारी गरिरहेको हो । सूर्य भगवान्को पूजाआराधना गरी मनाइने छठ पर्वमा पूजा गर्न आउने भक्तालुका लागि मोहना घाटमा २४० पूजाकक्ष निर्माण भइसकेका छन् । ती निर्माण गरिएका पूजाकक्ष टेन्ट, बत्ती, झिलमिली बत्ती, रङ्गीचङ्गी माला, पताकालगायत सामग्रीले सजाउने काम भइरहेको छठ पूजा सेवा समितिका उपाध्यक्ष रोशनकुमार कर्णले जानकारी दिनुभयो ।
उहाँका अनुसार अवलोकन गर्न आउने श्रद्धालुका लागि बस्ने व्यवस्था, भक्तालुको बसोबास तथा रातभर जाग्राम बस्नेका लागि छुट्टै व्यवस्था मिलाइएको छ । धनगढी बजारका मुख्य स्थानहरूमा स्वागतका लागि प्रवेशद्वार निर्माण गरिएका छन् । कालीगढले सूर्यको प्रतिमासहित विभिन्न देवीदेवताको मूर्ति निर्माण गरी पेन्टिङ गर्ने, सजाउने काम गरिरहेका छन् ।
कार्यक्रमका लागि मोहना नदी तटीय भागको माथितिर ठूलो पण्डाल निर्माण गरिएको छ । जहाँ अवलोकन गर्न आउने श्रद्धालुका लागि बस्ने व्यवस्था, भक्तालुको बसोबास तथा रातभर जाग्राम बस्नेका लागि छुट्टै व्यवस्था मिलाइएको उपाध्यक्ष कर्णले बताउनुभयो । करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको उहाँको भनाइ छ ।
पर्वकै अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू, स्थानीय भजनकीर्तन, विभिन्न देवीदेवताका सांस्कृतिक झाँकीलगायत प्रस्तुति रहने अयोजक समितिले जनाएको छ । भजनकीर्तन, गायन तथा विभिन्न कार्यक्रमको प्रस्तुतिका लागि तयारी भइरहेको जनाउँदै उपाध्यक्ष कर्णले छठ पूजाका लागि करिब रु १२ देखि रु १५ लाख खर्च हुने अनुमान गरिएको बताउनुभयो ।
विगतका वर्षहरूमा यो पर्वतर्फ स्थानीयको खासै ध्यान नगएको भए पनि पछिल्ला केही वर्षयता बालबालिकादेखि वृद्धवृद्धासम्म पर्व मनाउने स्थलमा पुग्ने गरेका छन् । परिवारका सदस्यको दीर्घायु जीवन, सुख, शान्ति र समृद्धि, रोगव्याधिबाट मुक्ति, सन्तान प्राप्तिलगायत मनोकामना पूरा हुने जनविश्वास रहिआएको उपाध्यक्ष कर्णले बताउनुभयो ।
छठ पर्व आउनुभन्दा एक महिनाअघिदेखि नै मोहना नदीतटमा सरसफाइ गरी भव्य रूपमा पूजालाई सफल पार्ने तयारीमा सेवा समिति जुटेको छ ।
---