कात्तिक ९, २०८२ आइतबार

भद्रपुर (झापा), ९ कात्तिक : मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यात ३३ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु एक अर्ब ६७ करोड ९१ लाख ७५ हजारबराबरको अलैँची निर्यात भएको हो । 

तीन महिनामा एक हजार ७२  मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले राससलाई जानकारी दिनुभयो । अघिल्लो आव २०८१/८२ को सोही  अवधिमा रु एक अर्ब सात करोड २२ लाखबराबरको अलँैची निर्यात भएको उहाँले बताउनुभयो । 

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको तीन महिनामा चियाको निर्यात ४० दशमलव ९० प्रतिशतले घटेको छ । उक्त अवधिमा रु एक अर्ब एक करोड २१ लाख ८६ हजार मूल्यबराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा रु एक अर्ब ७१ करोड ४० लाख ३१ हजारबराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिनुभयो । 

कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनियर सिट एक सय २६ प्रतिशत, छुर्पी ६१ दशमलव ८० प्रतिशत, प्लाइउड शतप्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ७१ दशमलव ४० प्रतिशत, धातुका अन्य अवशेष शतप्रतिशत, मुसुरो दाल चार सय ८१ प्रतिशतले वृद्धि भएको छ । यसैगरी अदुवा ३२ दशमलव ३० प्रतिशत र अम्रिसो निर्यातमा २४ प्रतिशतले कमी आएको छ । मेची भन्साबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा रु चार अर्ब ८० करोड ३९ लाख २४ हजारको मालवस्तु निर्यात भएको छ ।