सुन्दरकुमार थकाली
मुस्ताङ, ९ कात्तिकः यस वर्षको तिहार पर्व भाइटीका सकिएलगत्तै हिमालपारीको जिल्ला मुस्ताङमा अनेपेक्षित बढ्दो पर्यटक आगमन सङ्ख्याले यहाँको पर्यटन व्यवस्थापनमा निकै चुनौतीपूर्ण बन्यो । बर्खायामको भेल जस्तै मुस्ताङमा एकैसाथ पर्यटक ओइरिँदा यहाँका पर्यटन व्यवस्थापन अस्तव्यस्त रह्यो ।
विगतका वर्षमा पनि दसैँ तिहार र छठ पर्वलगायतमा यहाँ आन्तरिक पर्यटकको आगमन उल्लेख्य रुपमा हुने गथ्र्यो । यस वर्ष युवाको जेनजी आन्दोलनले उत्पन्न परिस्थिति र प्रतिकूल मौसमका कारण यहाँका पर्यटन व्यवसाय खासै चलायमान हुँदैन भन्ने लख काटिएको थियो । पर्यटक मुस्ताङ घुम्न आए पनि विगतका वर्ष जस्तो खासै चहलपहल हुँदैन भन्ने यहाँका पर्यटन व्यवसायले पूर्वानुमान गरेका थिए ।
देशको विषम परिस्थिति र सबै क्षेत्रको व्यवसाय धरासयी भइरहेको हुँदा नेपालीको कमाई नहुने र कमाई नहुने भएपछि घुमफिर गर्ने योजना पनि रोकिने बुझाई यहाँका पर्यटन व्यवसायीले गरेका थिए । तर, यहाँ पर्यटन व्यवसायीले गरेको पूर्वानुमान गलत सावित भइदियो । बिहीबारको तिहारको भाइटीका सकिएलगत्तै शुक्रबार र शनिबार मुस्ताङमा पर्यटकको बाढी नै आयो, जुन आज बिहानसम्म कायमै छ । जुन यहाँका पर्यटन व्यवसायीले कल्पनासम्म पनि गरेका थिएनन् ।
यहाँ हिमताल र हिमनदी पग्लेर बाढी आएको थिएन, न त बर्खायामको नियमित हुने भेल बाढी नै थियो । यो त मुस्ताङको सडक विकासले ल्याइदिएको पर्यटन क्षेत्रको नयाँ उभार थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमले मुस्ताङ उपत्यकालाई घुम्नै पर्ने सूचीमा पारेपछि मुस्ताङको पर्यटन क्षेत्रका नयाँ आयात नै थपिदियो ।
गत शुक्रबारदेखि राष्ट्रिय गौरवको निर्माणधीन (बेनी–जोमसोम–कोरला) सडकमार्गमा सवारीसाधनका लस्करले सडकमार्ग पूरै ढाकियो । म्याग्दी खण्डमा आधाजसो सडक कालोपत्र भएको छ भने आधाजसो सडक कालोपत्र छ । म्याग्दी र मुस्ताङको सीमाना घाँसादेखि मुक्तिनाथसम्मको सडकमा ९५ प्रतिशत सडक कालोपत्र भइसकेको छ । कागबेनीदेखि कोरलानाकासम्मको सडक ग्राभेल भए पनि सवारीसाधनका लागि आवतजावतमा निकै सहज भइसकेको छ । कोरला सडकको अधिकांश खोला, खोल्सीमा पुलपुलेसा निर्माण भइसकेकाले पोखरा–काठमाडौँलगायत सहरबाट मुस्ताङ आवतजावत गर्न कुनै समस्या छैन ।
उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक मार्गको तीव्र गतिको विकासले पर्यटकको ध्यान मुस्ताङतर्फ केन्द्रित भइरहेको छ । बडादसैँ, चैतेदसैँ औँसी र महत्वपूर्ण चाडपर्वमा आन्तरिक पर्यटकका लागि घुमफिरको केन्द्र बनेको छ मुस्ताङ । तिहारको भाइटीका सकेर मुस्ताङ हानिएका पर्यटकको चापले यतिबेला बेनी–जोमसोम सडकमार्ग र मुस्ताङको ट्राफिक व्यवस्थापन गर्नमा सुरक्षा निकायलाई निकै हम्मेहम्मे प¥र्यो ।
बेनी–जोमसोम सडकमार्गको म्याग्दी खण्डका केही स्थान र काभ्रेभिरलगायत सडकमा सवारीसाधनको लस्करले पर्यटकलाई गन्तव्यतर्फ प्रस्थान गर्न घण्टौँ समय लाग्यो । म्याग्दी र मुस्ताङको सिमाना प्रहरीचौकी घाँसामा मुस्ताङ भित्रिने सवारीसाधन र पर्यटक यात्रुको विवरण सङ्कलन गर्ने गरिन्छ । मुस्ताङ भित्रिएका सवारीसाधन र यात्रुको विवरण सङ्कलन गर्नमा त्यहाँ खटिएका प्रहरीहरुलाई निकै गाह्रो परेको छ । मुस्ताङ प्रहरीका अनुसार यो अहिलेसम्मकै ठूलो सङ्ख्यामा सीमित समयमा सवारीसाधन र यात्रु पर्यटक मुस्ताङ भित्रिएको दाबी गरिएको छ । भाइटीकापछि औसत आठ हजारको सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिएको बताइएको छ ।
बर्खायामको भेल जस्तै मुस्ताङमा पर्यटक एकैसाथ ओइरिँदा पर्वतको कुश्मादेखि मुस्ताङको कोरलानाकासम्मका होटल पर्यटकले भरिभराउ भएका छन् । यहाँ आएका पर्यटकमध्ये ९९ प्रतिशत आन्तरिक र एक प्रतिशत विदेशी पर्यटक रहेका छन् । मुस्ताङ घुम्न आइपुगेका पर्यटक कतिपयले पहिल्यै होटल ‘बुकिङ’ गरेर आइपुगेका थिए भने कतिपय बुकिङ नगरी आफ्नै तरिकाले घुम्न आउँदा पर्यटन व्यवस्थापनमा समस्या र चुनौती देखापरेको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजुप्रसाद लालचनले जानकारी दिनुभयो । अध्यक्ष लालचन तिहारपछि मुस्ताङका होटल बिहानैदेखि भरिभराउ भएकाले पर्यटकलाई बासस्थानको समस्या देखिएको बताउनुहुन्छ ।
त्यसो त मुस्ताङमा यतिका सङ्ख्यामा पर्यटक एकैसाथ ओइरिन्छन् भन्ने न त यहाँ आइपुगेका पर्यटकहरुले कल्पना गरेका थिए, न त यहाँका स्थानीय प्रशासन, प्रहरी, जनप्रतिनिधि र पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाले नै कल्पना गरेका थिए । आखिर भइदियो त्यस्तै । तिहार सकेर मुस्ताङमा घुम्न र रमाइलो गर्न आएका कतिपय पर्यटकको बसाई सुखद रहेन । खल्तीमा पैसा भएर पनि यहाँ आइपुगेका पर्यटकहरु न राम्ररी सुत्ने बास सुविधा पाए, न त राम्ररी खान खाने सुविधा नै भयो ।
मन श्रेष्ठसहित चार जनाको टोली काठमान्डौँबाट मोटरसाइकलमा कोरला नाका जाने योजना बनाएर शनिबार जोमसोम आइपुगे । बिहान १० बजे जोमसोम आइपुगेका उनीहरु होटलमा कोठा खोज्न भौंतारिए । यतिन्जेलसम्म मुस्ताङका होटल पर्यटकहरुले खचाखच भरिएको थियो । जोमसोम, कागबेनी, मार्फालगायतका स्थानमा होटल खोज्दा समेत बास बस्ने होटलहरु भटिएन । मुस्ताङमा घुम्न र रमाउन आएका उनीहरुमा बास नपाउने देखिएपछि निरास बने । दुई÷चार पैसा बढी तिरौँला बरु हामीलाई होटल खोजिदिनप¥यो भने स्थानीय पत्रकार मनिता थकालीसमक्ष अनुरोध गरे । स्थानीय पत्रकार थकालीले होटल नपाएको र कहीँकतै खाली भएमा सूचना दिनुहोला भनी सामाजिक सञ्जालमा पोस्ट गरिएपछि एक सामान्य स्तरको होटलमा जसोतसो व्यवस्था मिलाइएको थियोे ।
यसैगरी, पोखराबाट झन्डै ४० विद्यार्थी लिएर मुस्ताङ घुम्न आएको टोलीसमेत साँझ जोमसोममा बास नपाउँदा बिचल्लीमा पर्नुप¥यो । मुस्ताङमा होटलमा बास नपाएपछि कति पर्यटकले सवारीसाधनमा रात कटाएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी छिरिङ किप्पा लामाले तिहारपछि ठूलो सङ्ख्यामा पर्यटक मुस्ताङ ओइरिँदा होटल व्यवस्थापनमा समस्या परेको बताउनुभयो । डिएसपी लामाका अनुसार ‘बुकिङ’ नगरी मुस्ताङ आएका पर्यटकले बास नपाउँदा यहाँका धर्मशाला, सामुदायिक भवन र होमस्टेलगायतमा लगेर राखिएको बताउनुभयो ।
होटल बुकिङ नगरी उपल्लो मुस्ताङको भ्रमण गर्न गएका एक टोलीलाई लोमान्थाङस्थित आमा समूहको भवनमा लगेर राखिएको डिएसपी छिरिङ किप्पा लामाले जानकारी दिनुभयो । कोरला नाका अवलोकन गरी जोमसोम फर्किदै गरेको अर्को एक गाडी बीच माटोमै बिग्रिएपछि बिचल्लीमा परेका पर्यटकलाई छुसाङस्थित स्थानीयहरुको घरघरमा लगेर राखिएको डिएसपी लामाको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङ र यहाँका सरोकारवाला निकायले दसैँ, तिहार र छठ पर्वका बेलामा मुस्ताङ घुम्न आउँदा अनिवार्य होटल बुकिङ गरेर मात्रै आउन पर्यटकलाई सुझाएको छ । होटल बुकिङ नगरी आउँदा बास नपाइने र होटल र विचौलियाबाट ठगिन सक्ने भएकाले मुस्ताङ भ्रमण गर्दा होटल बुकिङ गरेर मात्रै यात्रा सहज हुने जनाएको छ । मुस्ताङमा पर्यटकको चाप बढेपछि यहाँका कतिपय होटल मनोमानी रुपमा खान र बस्नमा चर्को मूल्य लिएको गुनासोसमेत गरिएको छ । पर्यटकले मुस्ताङ महँगो भएको र व्यवसायीले पर्यटकलाई मनोमानी पैसा असुल्ने गरेको गुनासो लेखेर सामाजिक सञ्जालमा समेत सार्वजनिक गर्ने गरेको पाइएको छ ।
मुस्ताङ उद्योग वाणिज्य सङ्घले पर्यटकहरुलाई जथाभावी पैसा नलिन र उपयुक्त सेवा सुविधा र सुहाउँदो पैसा लिन समेत आग्रह गरेको छ । व्यवसाय एक पटकको मात्रै नभई सधैँका लागि भएकाले मुस्ताङको बदनाम हुने गरी व्यवसाय सञ्चालन नगर्न अनुरोध गरिएको छ । मुस्ताङमा सञ्चालित होटलहरुले आठ हजार पर्यटक थेग्न नसकिएपछि विषेश चाडपर्वका बेला वैकल्पिक व्यवस्था अपनाउनुपर्ने आवाज उठ्न थालेको छ । यहाँका गाउँगाउँमा समुदायको सामुदायिक भवन र सार्वजनिक भवन खाली हुने भएकाले पर्यटकलाई अप्ठ्यारो पर्दा त्यहाँ राख्ने व्यवस्था मिलाउनसकेमा पर्यटकलाई परेको पिरमर्का समाधान गर्न सकिने अवस्था रहेको सरोकारवालाहरुको भनाइ छ ।
मुस्ताङका पाँच स्थानीय तहमा साना ठूला गरी ३२५ वटा होटल सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । एक वर्षअघिको यो तथ्याङ्कमा केही नयाँ होटलहरु थपिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ । यहाँको लोमान्थाङ गाउँपालिकामा २०, लोघेकर दामोदरकुण्डमा ३०, बारागाउँ मुक्तिक्षेत्रमा ६३, घरपझोङ गाउँपालिकामा १६३ र थासाङ गाउँपालिकामा ४९ वटा होटल सञ्चालनमा रहेका छन् । यहाँ सञ्चालनमा रहेका होटलमध्ये ९० प्रतिशत राजमार्गमा रहेको र १० प्रतिशत होटल राजमार्गभन्दा बाहिर रहेको जनाइएको छ । सामान्य अवस्था पर्यटक व्यवस्थापनमा खासै अप्ठ्यारो नपर्ने भए पनि मुख्य चाडपर्वमा यहाँका होटलको सङ्ख्या अपुग हुने भएकाले पर्यटकहरु मुस्ताङ भ्रमण गर्न आउँदा यहाँको वस्तुस्थिति बुझेर मात्रै आउन प्रहरीले अनुरोध गरेको छ ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा मुक्तिनाथ मन्दिरको दर्शन पहिलो प्राथमिकतामा पर्छ । यहाँ आइपुगेका पर्यटकहरुले मुक्तिनाथ मन्दिरको दर्शन गरी कोरला नाका, लोमान्थाङ दरबार, छोसेर गुफा, चिउँसी गुफा, चराङ गुम्बा, मराङ गुम्बा, कागबेनी, ढुम्बाताल र मार्फा गाउँको भ्रमण गर्ने गर्दछन् । यहाँ बर्सेनि आठ लाख बढी आन्तरिक र डेढ लाख बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने गर्दछन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले तिहारको भाइटीकापछि मुस्ताङमा पर्यटकको चाप नरोकिएको जनाएको छ । म्याग्दी र मुस्ताङ सीमानामा पर्यटकको विवरण सङ्कलन गर्न तीन जना जनशक्ति खटिएको जनाएको छ । आइतबार पनि मुक्तिनाथमा दर्शनार्थीको सङ्ख्या बाक्लो रहेको त्यहाँ कार्यरत समितिका कर्मचारी रवीन सुवेदीले जानकारी दिनुभयो । यहाँ दर्शन तथा स्वास्थ्य सुरक्षा र अन्य सुरक्षा व्यवस्थापका आवश्यक जनशक्ति परिचालन भइरहेको बताउनुभयो ।
दसैँ, तिहारलगायत चाडपर्वको लामो बिदाका अवसरमा स्कुल कलेजका विद्यार्थी, युवा तन्नेरी, कर्मचारी, बैंक तथा वित्तीय संस्था र चाडपर्व मनाउन स्वदेश फर्किएका नेपालीहरु मुस्ताङ घुम्न आएका बताइएको छ । मुस्ताङमा चिसो बढेकाले पर्यटक बिरामी परेर अस्पताल भर्ना हुनेको सङ्ख्या बढे पनि हालसम्म कसैको ज्यान नगएको मुस्ताङस्थित प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डन डा समीक्षा कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तिहारपछि करिब दुई हजार पर्यटकले अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् ।
----