कात्तिक १५, २०८२ शनिबार

काठमाडौँ, १५ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग मुलुकको समयसामयिक राजनीतिक विषय, निर्वाचनको तयारी, सरकारको काम कारवाहीलगायतका विषयमा छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सरकारका तर्फबाट अधिकत्तम प्रयास भइरहेको र क्रमशः वातावरण बन्दै गएको तथा यसबीचमा जेनजी, राजनीतिक दलबीचमा छलफल भएको समेत सो अवसरमा जानकारी दिनुभएको थियो ।

    सबैलाई विश्वासमा लिएर निर्वाचन सफल बनाउने र नयाँ सरकारलाई जिम्मा लगाएर विदा हुने मनसायमा आफू रहेको समेत प्रधानमन्त्री कार्कीको भनाइ थियो ।  

    सुशासन कायम गर्ने र निर्वाचन गराउने सरकारको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राजनीतिक दललाई निषेध गरेर नभई उत्साहपूर्वक सहभागिता गराएर फागनु २१ को निर्वाचन सम्पन्न गर्दै सत्ता हस्तान्तरण गर्ने बताउनुभयो । आफूले असहज अवस्थामा सरकारको नेतृत्व लिएको स्पष्ट पार्दै प्रधानमन्त्री कार्कीले आलोचनाबाट नडराउने बताउनुभयो ।

    छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थिति थियो ।