कात्तिक १६, २०८२ आइतबार

कञ्चनपुर, १६ कात्तिक : धान काटिसकेपछि खेतमै गरिने परम्परागत ‘औली उतर्ना पूजा’ लोपोन्मुख अवस्थामा पुगेको छ ।  विशेष गरेर  धान काट्न प्रयोग हुने करौती र हँसिया एवं यस्ता हतियारमा धार लगाउन प्रयोग हुने पत्थरलाई पूजा गर्ने परम्परालाई ‘औली उतर्ना पूजा’ भन्ने गरिन्छ । 

पहिलेका दिनमा थारू समुदायले धान काटिसकेपछि खेतका कुनामा हँसिया र धार लगाउने पत्थर राखी पूजा गर्थे । “लामो बाँसको टुप्पोमा कुशको मयुर बनाएर झुण्ड्याइन्थ्यो, त्यसमै धानका बाला र फूलको माला पनि राखिन्थ्यो”, थारू अगुवा धनबहादुर कुश्मी (चौधरी)ले भन्नुभयो, “यो हाम्रो संस्कृतिको प्रतीक थियो, तर अहिले खेतमा त्यो दृश्य देख्नै मुस्किल छ ।”

उहाँका अनुसार औली उतर्ना पूजामा खेतको सबै धान काटिसकेपछि एक क्यारीको कुनामा थोरै धान बाँकी राखी घरको अगुवाले पूजा गर्थे । बाँकी राखिने त्यस धानलाई थारू समुदायले ‘उइँरा’ भन्ने गर्दछन् । पूजामा जल, सिन्दुर, फूल र मदिरा अर्पण गरिन्थ्यो । पूजा गर्ने बेलामा बचाइएको धानलाई बायाँ हातले काट्ने चलन थियो ।

हँसिया बसाल्ने परिवारका सदस्यको टाउकोमा धानसहितको बाला खन्याइन्थ्यो, जसले देवीदेवताप्रति सम्मान र आगामी वर्ष राम्रो धान फलोस् भन्ने कामना जनाउँथ्यो । “अन्नले भकारी टन्न भरियोस्, रोगव्याधि नलागोस् भन्ने विश्वासका साथ यो पूजा गरिन्थ्यो”, कुश्मीले स्मरण गर्नुभयो । यस अवसरमा थारू समुदायले जाँड, मदिरा, सुगुरको मासु, माछा र अन्य परिकार बनाइ परिवारका सदस्यसँग बसेर रमाइलो गर्ने परम्परा थियो । खेतमै सयपत्रीका माला महिलाहरूले उनेर पूजामा सहभागीहरूलाई पहिर्याउँथे । परम्परागत गीत गाउँदै मादल बजाउँदै रमाइलो गरिन्थ्यो ।
 
थारू संस्कृतिका जानकार हवलदार चौधरीका अनुसार औली उतर्ना पूजा थारू समाजको कृषि–संस्कृति र प्रकृतिप्रतिको कृतज्ञताको प्रतीक हो । “पहिले वृद्धवृद्धाले धान काटिसकेपछि गाउँभर यो पूजा गर्थे, अहिले त धेरै युवाले यस पूजा पद्धतिको नाम पनि सुनेका छैनन्”, उहाँले भन्नुभयो । बूढापाकाले नयाँ पुस्तालाई यसको अर्थ र विधि नबुझाइदिँदा थारू समुदायको मौलिक पूजा पद्धति लोप हुने अवस्थामा पुगेको ठम्याइ उहाँको रहेको छ । “पहिले खेतीपातीसँगै पूजा–संस्कार पनि हुन्थ्यो, अहिले खेतीमात्र बाँकी छ, पूजा पद्धति हरायो”, उहाँले दुःख व्यक्त गर्नुभयो । 

थारू समुदायका पुराना पुस्ताले औली उतर्ना पूजालाई देवीदेवतासँग सम्बन्ध कायम राख्ने माध्यमका रूपमा हेर्थे । यो पूजा सम्पन्न नगरी घर फर्कनु अशुभ मानिन्थ्यो । तर अहिले आधुनिक कृषि उपकरण, समयको अभाव र नयाँ पुस्ताको उदासिनताका कारण यो परम्परा क्रमशः हराउँदै गएको छ । थारू अगुवाहरूले भने यसको पुनर्जीवनका प्रयास गर्न सके सांस्कृतिक पहिचान पुनः स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।