काभ्रेपलाञ्चोक, १७ कात्तिकः काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ । वडा कार्यालयले ‘वडाको अभियान शुद्ध खानेपानी, पानीबिना रहँदैन जिन्दगानी’नाराका साथ एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानी वितरण थालेको हो ।
खानेपानी आयोजनाले ६ नं वडाका बस्तीमा सात सय ६० परिवारलाई समेट्ने जनाइएको छ । खानेपनी वितरणसहित आयोजना सम्पन्न गर्न चालु आर्थिक वर्षको नगरस्तरीय बजेटबाट आयोजनाका लागि थप रु ३५ लाख विनियोजना भएको थियो । वडाध्यक्ष सचितानन्द केसीका अनुसार उक्त बजेटमध्ये रु २५ लाख खानेपानी वितरणसहित आयोजना सम्पन्न गर्न तथा हाल बाँकी डाँडागाउँमा ट्याङ्कीसहित लाइन विस्तार गर्न रु १० लाख विनियोजन भएको हो ।
आयोजनाबाट समानुपातिक खानेपानी वितरण अभियान प्रारम्भ गरिएको केसीले बताउनुभयो । उहाँका अनुसार आयोजनाले वडाका अरनिको राजमार्ग दक्षिण, सिलु–मार्ग पूर्व, खहरे–खोला पश्चिम र अरनिको राजमार्ग उत्तरी क्षेत्रका बस्तीलाई समेट्ने छ । आयोजना डिप बोरिङ तथा स्थानीय पानीका मुललाई स्रोत बनाइएको हो ।
यसैबीच आयोजना कार्यान्वयनका लागि भैरव केसीको अध्यक्षतामा १७ सदस्यीय उपभाक्ता समिति गठन गरिएको छ । समितिले आयोजना सम्पन्नतालाई तीव्रता दिने जनाएको छ ।