कात्तिक २०, २०८२ बिहिबार

काठमाडौँ, २० कात्तिकः गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु गन्थ साहेव’ पाठ गराउनाका साथै साधुसन्तलाई भण्डारा गराइएको छ ।

    स्वामी गोकुलानन्दले यस अवसरमा ७०० जनालाई भण्डारा गराउनुका साथै गुरु ग्रन्थ साहिवको अखण्ड पाठ एवम् भोगप्रसाद सम्पन्न भएको जानकारी दिनुभयो । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरिएको थियो । 

    यस दिन पवित्रस्थल गुरुद्वारामा विशेष पूजाआराधना गरिन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज कुपण्डोलस्थित गुरुद्वारामा पनि पाठ पारायण एवम् पूजाआराधना गरी मनाइएको छ ।

    गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गर्नुभएको हो । उहाँले  जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत गरेको बताइन्छ । 

    पूजाअर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरु नानकको जन्मजयन्ती मनाउने गरिन्छ । गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’ को थालनी गर्नुभएको थियो । निर्गुण उपासनाका पक्षपाती गुरु नानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् यही नै सत्य हो’ भन्नेमा विश्वास गर्नुहुन्थ्यो भन्ने शिख समुदायको मान्यता छ ।