दमक (झापा), २६ कात्तिकः युरोपेली सङ्घको उच्च अधिकारीहरुको एक टोलीले पूर्वमा रहेका भुटानी शरणार्थी शिविरको स्थलगत अवलोकन गरेका छन् ।
टोलीले दमकको बेलडाँगी र मोरङको पथरी शनिश्चरे शिविरमा पुगेर शरणार्थीहरुको अवस्थाका बारेमा स्थलगत अवलोकन गरेका हुन् ।
टोलीले भ्रमणका क्रममा तेस्रो राष्ट्र नगएर नेपालमै रहेका भुटानी शरणार्थीहरुका बारेमा चासो राखेका थिए । सो टोलीमा नेपालका लागि युरोपेली सङ्घ (इयु) की राजदूत भेरोनिक लोरेन्जो, शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर) नेपालकी प्रतिनिधि मोनिक सोखान, युएनएचसीआर नेपालकी वरिष्ठ अधिकृत संगीता खतिवडा, देशीय संयोजक विजय बज्रचार्य, लुथरन वल्र्ड फेडरेसन (एलडब्लुएफ) का प्रतिनिधि गोपाल अधिकारीलगायत थिए ।
एलडब्लुएफका अधिकारीका अनुसार टोलीले सोमबार पथरी शनिश्चरे र आज दमकको बेलडाँगी शिविरको स्थलगत भ्रमण गरी शिविरमा रहेका शरणार्थीहरुको अवस्थाका बारेमा जानकारी लिएका थिए । टोलीले दुवै स्थानीय तहका जनप्रतिनिधिहरुसँग नेपालमा बाँकी रहेका शरणार्थीहरुका सहज जीवनयापनका विषयमा अन्तक्रियासमेत गरेको थियो ।
दमक नगरपालिकामा आयोजित अन्तरक्रियामा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईंले दमकको बेलडाँगी शिविरमा बस्दै आएका भुटानी शरणार्थी, उनीहरुबाट उत्पन्न समस्या र निराकरणका विषयमा आफ्नो विचार राख्नुभएको थियो ।
टोलीका उच्च अधिकारीहरुसँगको छलफलका क्रममा नगर प्रमुख थापाले जेनजी आन्दोलनपछि परेको प्रभाव र क्षतिले सिङ्गो नगरको विकास निर्माणलगायत पक्षमा असर पु¥याएको उल्लेख गर्नुभयो ।