कात्तिक २६, २०८२ बुधबार

काठमाडौँ, २६ कात्तिकः नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले राजनीतिक क्षेत्रमा देखिएको अपराधीकण, व्यापारीकरण, दलालीकरण, ठेकेदारीकण र भ्रष्टीकरणको समस्या सुधार्नु राजनीतिको पहिलो कर्तव्य भएको बताउनुभएको छ । 

    नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको सङ्गठनात्मक एकीकरणसभालाई आज सम्बोधन गदै उहाँले देशमा सुधार ल्याउने हुटहुटी पूरा गर्न आवश्यक सङ्कल्प लिएर अघि बढ्नुपर्ने बताउनुभयो ।
 
    सहसंयोजक नेपालले राजनीतिप्रति देखिएको जनताको वितृष्णाका बारेमा समीक्षा गर्नुपर्नेमा जोड दिँदै पार्टी र नेता तथा कार्यकर्ताभित्र झाङ्गिएको विकृति र विसङ्गति सुधार गरेर जानुपर्ने बताउनुभयो । “विगत विर्सियौँ भने पूरानै अवस्था दोहोरिन बेर लाग्दैन”, उहाँले भन्नुभयो । 

    नयाँ क्रान्तिकारी सङ्कल्प बोकेको पार्टी निर्माण गर्ने अभियान सुरु भएको जानकारी दिँदै उहाँले आफूभित्रको कमजोरी सुधार्ने प्रतिबद्धता अहिलेको आवश्यकता भएको बताउनुभयो ।
 
    “नेकपालाई क्रान्तिकारी चरित्र, देश र जनताप्रति इमान्दार र समर्पित भएका योद्धाको पार्टी बनाउनुपर्छ”, सहसंयोजक नेपालले भन्नुभयो, “परिवर्तन यत्तिकै हुनेवाला छैन, यो आफैँबाट सुरु गर्नुपर्छ । अनेक खालका भड्काउबाट मुक्त हुनुपर्छ । जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ ।” पार्टीभित्रको अनुशासन अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले आफूलाई लागेका कुरा कमिटीमा राख्नुपर्ने बताउनुभयो ।
 
        जेनजी पुस्ताले व्यवस्था परिर्वतन नभई अवस्था परिवर्तनको माग उठाएको जनाउँदै उहाँले यस पार्टीले मात्रै जेनजीको आशा र भरोसा पूरा गर्ने दाबी गर्नुभयो । “जनताको अवस्थामा परिवर्तन गर्नुपर्नेछ । जनताको पीडा वेदना र युवाको आवश्यकता सम्बोध गर्ने नीति लिनुपर्छ, नेपाली विशेषतको वैज्ञानिक समाजवादको कार्यक्रम अघि सार्नुपर्छ”, सहसंयोजक नेपालले भन्नुभयो ।