कात्तिक २८, २०८२ शुक्रबार

काठमाडौँ, २८ कात्तिकः सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकालाई चार प्रकारमा वर्गीकरण गरेको छ । 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले प्रदर्शनका क्रममा घाइते भएकाको  वर्गीकरण गर्न गठित प्राविधिक समितिले घाइतेलाई चार प्रकारमा विभाजन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार वर्गमा विभाजन गरिएको छ । 

    सरकारले मन्त्रालयका गुणस्तर, मापन तथा नियमन विभागका प्रमुख डा सरोज शर्माको संयोजकत्वमा १० सदस्यीय प्राविधिक समिति गठन गरेको थियो । 

    घाइतेमध्ये चोटपटकका आधारमा वर्गीकरण गरिएको छ । जसमा अति गम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३  र सामान्य घाइतेलाई ११ प्रकारका चोटपटक लागेका आधारमा छुट्याइएको मन्त्रालयले जनाएको छ । वर्गीकरणअनुसार घाइतेलाई परिचयपत्र उपलब्ध गराइने छ । सरकारले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरणको काम सक्न निर्देशन दिइसकेको छ । 

    गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा दुई हजार ५७२ जना घाइते भएको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिनुभयो । तीमध्ये ११ जनाको अस्पतालमा उपचाररत छन् ।