कात्तिक ३०, २०८२ आइतबार

मनाङ, ३० कात्तिकः मनाङ सदरमुकाम चामेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले अब आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह थालेको छ । स्थापनाकालदेखि हालसम्म भाडाको भवनमार्फत सेवा प्रवाह गर्दै आएको सो कार्यालयले आधुनिक तथा सुविधासम्पन्न भवन निर्माण गरेको हो ।  

नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले नयाँ भवनबाट सेवा प्रवाहको प्रारम्भ गर्नुभयो । उहाँले नयाँ भवनले सेवा प्रवाहलाई अझ छरितो, सहज र पारदर्शी बनाउने विश्वास व्यक्त गर्दै वित्तीय सुशासन कायम राख्नका निम्ति सम्पूर्णमा आह्वान गर्नुभयो । उहाँले मनाङको समग्र आर्थिक व्यवस्थापन सुदृढीकरण र विकासका क्षेत्रमा नेपाल सरकार निरन्तर साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । महालेखा नियन्त्रक पौडेलले भवन निर्माण समयमै सम्पन्न गरेकामा कोलेनिका र निर्माण कम्पनी दुवैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले नयाँ भवनबाट सेवा प्रवाहले कार्यालयका कर्मचारीमा नयाँ उत्साह, आत्मविश्वास र जिम्मेवारीको भावना थप्ने बताउनुभयो । उहाँले कोलेनिका मनाङलाई उच्च मनोबलका साथ पारदर्शी र प्रभावकारी सेवामा समर्पित रहेर जिल्ला प्रशासन कार्यालयले आगामी दिनमा सबै सरकारी कार्यालय आफ्नै भवनबाट प्रवाह गर्न सहयोग तथा समन्वय जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले वर्तमान परिवेशमा कर्मचारीमा नवीन सोच, सृजनशीलता, व्यावसायिकता र प्रतिस्पर्धी क्षमताको आवश्यकता रहेको उल्लेख गर्दै जनसेवामा पूर्ण समर्पित रहन निर्देशन दिनुभयो ।

कोष नियन्त्रक सुवास अधिकारीले नयाँ प्रशासकीय भवनबाट सेवा प्रवाह गर्दा वित्तीय सुशासन कायम गरी छिटो, छरितो र प्रभावकारी सेवा प्रवाहमा सहज भएको बताउनुभयो । उहाँले तालुक निकायको निर्देशन र सेवाग्राहीका अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले र सहमहालेखा नियन्त्रक दीपक लामिछानेले नयाँ भवनको प्रयोगले सेवाको गुणस्तर र पहुँचमा थप सुधार आउने बताउनुभयो ।