कात्तिक ३०, २०८२ आइतबार

म्याग्दी, ३० कात्तिकः धवलागिरि गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएको छ । 

    खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी ‘एमएस दोङयी मिनरल्स’ प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि अध्ययन थालेको हो । मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा छ ठाउँमा रहेका तामाखानी पाँच दशकदेखि बन्द अवस्थामा छन् । 

    धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले भूगर्भविद्हरुको टोली खानीमा तामाको मात्रा पहिचानका लागि अध्ययनका लागि आएको बताउनुभयो । “गतहप्ता आएको टोलीले पहिलो चरणमा तामाखानी भएको ठाउँको निरीक्षण गरेको थियो”, उहाँले भन्नुभयो, “टोलीले खानी भएको ठाउँसम्म जाने पहुँचमार्ग निर्माणका लागि पनि छलफल गरेको छ ।” 

    खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढाइने वडाध्यक्ष खत्रीले बताउनुभयो । स्थानीयले खानी उत्खननका लागि अध्ययन थालिएकामा खुसी व्यक्त गरेका छन् । वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिनुपर्ने मच्छिमका बासिन्दा कुलबहादुर छन्त्यालले बताउनुभयो । उहाँका अनुसार मच्छिमको खानीबाट विसं २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो । 

    प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको छन्त्यालले बताउनुभयो । तामाखानी उत्खननका लागि आएका छन्त्याल समुदायले मच्छिममा बस्ती बसाएको इतिहास छ । छन्त्याल समुदायको पुख्र्याैली पेसा खानी खन्ने हो । 

    त्यहाँ अझैसम्म पनि तामाका धाउ देख्न सकिन्छ । तामाखानीका सुरुङ छन् । स्थानीयहरुले त्यही सुरुङबाट भित्र छिरेर घन, छिनोको प्रयोग गरेर तामा निकाल्ने गरेका थिए । उक्त कम्पनीले मालिका गाउँपालिकाको ओखरबोट तामाखानीमा पनि सम्भाव्यता अध्ययन गरिरहेको छ । खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दीमा तामा, फलाम, क्वार्ज, कप्रक, चुनढुङ्गा, खरिढुङ्गा, स्लेटढुङ्गा, मार्बल र तातोपानीका मुहान (हटस्पिङ) पाइन्छन् । जिल्लामा बढी पाइने खनिज पदार्थमा तामा प्रमुख हो ।