कात्तिक ३०, २०८२ आइतबार

पूर्णप्रसाद मिश्र

भारदेउ (ललितपुर), ३० कात्तिकः समुद्री सतहबाट दुई हजार ५७५ मिटर उचाइमा रहेको फूलबारी डाँडाबाट एक दर्जन बढी हिमाली शृङ्खला देखिन्छ । कोञ्ज्योसोम डाँडासमेत भनिने यो स्थान फूल्चोकी डाँडाको दक्षिणपूर्वी भागमा पर्छ । नगरकोटभन्दा धेरै हिमाल देख्न सकिने यो स्थानमा अहिले आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ । 

    यही डाँडाको करिब १०० मिटर तल धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वको गुप्तेश्वर महादेव मन्दिरसहित गुफा छ । फूलबारी डाँडामा पनि केही वर्षअघि बौद्ध दर्शनअनुसार त्रिदेवको प्रतिमा स्थापना गरिएपछि हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको पवित्र स्थलका रुपमा यो ठाउँ स्थापित भएको छ । 

    प्राचीनकालदेखि नै यहाँ दुवै धर्मावलम्बी आस्था एवं विश्वासका साथ पुग्ने गरेका थिए । भारदेउलगायत राजधानीका विभिन्न स्थानमा लामो समय खडेरी प¥यो भने गुप्तेश्वर महादेवको पूजा आराधना गरेपछि पानी पर्ने गरेको यहाँका स्थानीय बताउँछन् । प्राकृतिक र सांस्कृतिक पर्यटकीय दृष्टिले आकर्षक रहेको कोञ्ज्योसोममा आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन यहाँका स्थानीय पनि लागिपरेका छन् । आन्तरिक एवं बाह्य पर्यटकका लागि आवश्यक विभिन्न पूर्वाधार निर्माणमा उनीहरु जुटेका छन् । 
 
    सातदोबाटोबाट करिब २२ किमीको दूरीमा कोञ्ज्योसोम गाउँपालिका वडा नं ५ स्थित भारदेउ पुगिन्छ । फूलबारी डाँडा र गुप्तेश्वर महादेव मन्दिरमुनिको यो बस्तीमा आन्तरिक एवं बाह्य पर्यटकलाई स्वागत गर्न चार वटा घरबास (होमस्टे) खुलेका छन् । यहाँको १२७ वर्ष पुरानो एक पुरातात्विक महत्वको घर जसलाई १७ झ्याले पनि भनिन्छ, यसमा खुलेको होमस्टे धेरैको आकर्षणको केन्द्र बनेको छ । 
 
    यहाँका लालकाजी मोक्तानको पाँच पुस्ताअघिका पुर्खाले बनाएको यो घर अहिले पनि उही स्वरुपमा छ । विसं १९९०, २०४५ र २०७२ को तीन भूकम्पले पनि यो घरलाई केही असर गरेको छैन । जसको छानामात्र खरबाट जस्तामा फेरिएको छ । यही घरमा उहाँलगायत सात जनाको समूहले होमस्टे चलाउनुभएको हो । यो होमस्टेमा प्रत्येक शुक्रबार खचाखच आन्तरिक एवं बाह्य पर्यटक आउने गरेका छन् । होमस्टे आउने पर्यटकलाई स्थानीय उत्पादन खुवाएर आकर्षित गर्ने गरिएको छ । 
 
    गाउँपालिकाका पूर्वअध्यक्ष गोपीलाल स्याङ्तान पनि कोन्ज्योसोम धार्मिक पर्यटन विकास समिति गठन गरेर यहाँको पर्यटन प्रवद्र्धनमा लागिपर्नुभएको छ । उहाँलगायतको समूहले भारदेउ भ्यू मिनी रिसोर्ट स्थापना गरेर पर्यटकीय पूर्वाधारको आवश्यकता पनि पूरा गर्नुभएको छ । रिसोर्ट नामाकरण गरिए पनि होमस्टेकै स्वरुपमा यसलाई सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । 
 
    स्याङ्तान नेतृत्वको धार्मिक पर्यटन विकास समितिले गाउँपालिकासँग सम्झौता गरी फूलबारी डाँडामा निर्माण भएको त्रिदेव प्रतिमा र गुप्तेश्वर महादेव मन्दिर क्षेत्रको रेखदेख एवं सञ्चालन गर्ने भएको छ । गुप्तेश्वर सामुदायिक वन रहेको यो क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनाउन यहाँ पुग्ने सडक पूर्वाधारलाई सुधार गरिनुपर्ने स्थानीय सुरेन्द्र श्रेष्ठ बताउनुहुन्छ । राजधानीबाट करिब डेढ घण्टामा पुग्न सकिने यस स्थानमा सडक सुधार गर्न सके धेरैले सप्ताहान्तको छुट्टी मनाउने स्थलका रुपमा विकास गर्न सकिने उहाँको विश्वास छ । 
 
    रातोघर र पहेँलोघर नामबाट अरु दुई होमस्टे पनि यहाँ सञ्चालनमा छन् । शुक्रबार यहाँ पुग्ने आन्तरिक एवं बाह्य पर्यटकलाई यी होमस्टेले मात्र नधान्ने भएपछि खाली रहेका २० देखि २५ पुराना घरमा सामुदायिक होमस्टे सञ्चालनका लागि पनि यहाँका स्थानीयले तयारी गरेको स्थानीय बासिन्दा ज्ञानबहादुर मोक्तानले जानकारी दिनुभयो ।
  
    राजधानीको धुवाँ, धुलोमा दिक्क भएकालाई यहाँको पदमार्गले आकर्षण गर्ने गरेको छ । गोदावरीबाट फूलचोकी हुँदै कोञ्ज्योसोमसम्म पदमार्ग रहेको छ । यो मार्ग पुरानो हो । पछिल्लो समय फूलचोकी जङ्गलमा वृद्धि भएको चितुवालगायत वन्यजन्तुका कारण यो मार्गको कम प्रयोग भए पनि १५ देखि २० जनासम्म पदयात्रीका लागि भने उपयुक्त हुने स्थानीय मोक्तान बताउनुहुन्छ । कोञ्ज्योसोम डाँडाबाट काभ्रेपलाञ्चोकको बेथानचोक बतासे गुम्बा हुँदै नारायणस्थानसम्म अर्को पदमार्ग रहेको छ । कोञ्ज्योसोम डाँडाबाट महाँकाल गाउँपालिकाको कालेश्वर मन्दिरसम्म अर्को पदमार्गको पनि रहेको उहाँले सुनाउनुभयो ।
 
    काठमाडौँ उपत्यकामा राजधानीबाट नजिक रहेको यो ठाउँको प्रचारप्रसार नभएकैले अहिलेसम्म ओझेलमा परेको स्थानीय बताउँछन् । कोरोनाअघिसम्म कोन्ज्योसोम क्षेत्रको पर्यटकीय आकर्षणका बारेमा चर्चासम्म पनि हुन्थेन । कोरोनाका समयमा गाउँपालिकाले स्थानीयवासीलाई रोजगारी दिने गरी भारदेउबाट फूलबारी डाँडासम्मको सडक खनेपछि यसको महत्व जनसमक्ष आएको हो । फूलबारी डाँडा अहिले धेरै युवा, युवतीको पनि घुमफिर गर्ने आकर्षणको केन्द्र बन्न सफल भएको छ ।
   
    शुक्रबार बेलुकी साथीसहित यहाँ घुम्न आउनुभएका थानकोटका धनबहादुर मगर ठाउँ रमाइलो भए पनि सार्वजनिक यातायात भने असहज भएको अनुभव गरेको बताउनुहुन्छ । कोञ्ज्योसोमबाट बिहान ७ बजे लगनखेल जाने सार्वजनिक यातायातको व्यवस्था छ । चापागाउँबाट प्रत्येक दिउँसो ३ बजे कोञ्ज्योसोमका लागि सार्वजनिक यातायात छुट्ने गरेको छ । सडकका विभिन्न स्थान कच्ची भएकाले यात्रुलाई केही असहज हुने गरेको छ । सडक कालोपत्रका लागि बोलपत्र आह्वान भइसकेको जनाइएको छ । वाग्मती प्रदेश सरकारले यहाँको सडक कालोपत्र गर्न बोलपत्र आह्वान गरेको हो ।  

    फूलबारी डाँडाको त्रिदेव प्रतिमास्थल र गुप्तेश्वर महादेव मन्दिरको पूजा, आराधना एवं दर्शनका लागि पनि दैनिक सयौँ ललितपुर बाहिरका पर्यटक आउने गरेका छन् । शनिबार बिहानै भक्तपुरको वंशगोपाल टेखाचोबाट २८ जनाको समूह पूजा आराधना एवं दर्शनका लागि बस रिजर्भ गरेर यहाँ आइपुगेका थिए । यो समूहमा आउनुभएका पञ्चलाल मानन्धर यहाँबाट देखिने सगरमाथालगायत हिमालले मनै लोभ्याएको सुनाउनुहुन्छ । 
 
    यहाँको गुप्तेश्वर महादेव मन्दिरमा प्रत्येक वर्षको साउन महिना, महाशिवरात्रि, बालाचतुर्दशीलगायत पर्वमा मेला लाग्ने गरेको छ । यसैगरी त्रिदेव बुद्ध प्रतिमास्थलमा सोनाम ल्होसार, वैशाख १ गते नयाँ वर्ष र वैशाख पूर्णिमाका दिन मेला लाग्ने गरेको छ । यहाँबाट सगरमाथा, गौरीशङ्कर, माछापुछ्रे, मनास्लु, धवलागिरि, गणेश, लामाटाङ, जुगललगायत दर्जन बढी हिमाल देखिन्छ । शुक्रबार बेलुकी गएर भारदेउका होमस्टेमा बसेका आन्तरिक एवं बाह्य पर्यटक शनिबार भने बिहान ७ बजे नै फूलबारी डाँडामा हिमाल हेर्न जाने गरेका छन् ।