कात्तिक ३०, २०८२ आइतबार

गाजा सिटी, ३० कात्तिक: गाजामा शनिबार दशौं स्वयंसेवक सडक सफाइ र पूर्वाधार पुनस्र्थापनामा सक्रिय रूपमा जुटेका छन् । वर्षा भइरहे पनि उहाँहरू युद्धपछिको मलबा र फोहोर हटाउँदै शहरलाई सफा र सुन्दर बनाउने कार्यमा संलग्न छन् । यो पहल व्यापक स्वयंसेवक अभियानको एक महत्वपूर्ण हिस्सा मानिन्छ ।

गाजा नगरपालिकाले यो अभियान गाजा उद्योग, वाणिज्य तथा कृषि चेम्बर र प्यालेस्टाइन गैरसरकारी संस्था नेटवर्कसँगको सहकार्यमा सुरु गरेको हो । नगरपालिका अनुसार अभियानको उद्देश्य ‘सामुदायिक सहभागितामार्फत निर्माण र पुनर्निर्माणमा आशाको उज्यालो फैलाउनु’ हो ।
नगरपालिकाका जनसम्पर्क अधिकृत होस्नी मुहानाले बताए अनुसार, अभियानमार्फत फोहोर र मलबा हटाउने, सडकमा रूख रोप्ने र युद्धले प्रभावित शहरलाई सुन्दर बनाउने कार्य भइरहेको छ 
गाजा सिटीका मेयर याह्या अल–सार्राजले यस अभियानलाई महान् पहलको रूपमा वर्णन गर्दै भन्नुभयो, “यो अभियानले प्यालेस्टिनी जनताको अडिगता दृढ र कुनैपनि चुनौतीले उनीहरूलाई रोक्न नसक्ने देखाएको छ । विभिन्न उमेरका मानिसहरू यस अभियानमा सक्रिय देखिनुले विश्वलाई सन्देश दिन्छ कि गाजा जीवन योग्य छ ।”
प्यालेस्टाइन एनजीओ नेटवर्कका प्रमुख अम्जाद अल–शावा अनुसार यो अभियान युद्धपछिको ६० करोड टन मलबा हटाउने ठूलो लक्ष्यतर्फको पहिलो चरण हो, जसले गाजालाई पहिलेभन्दा अझ सुन्दर र सुरक्षित बनाउने लक्ष्य राखेको छ ।

गाजा उद्योग, वाणिज्य र कृषि चेम्बरका प्रमुख आयेद अबु रमदानले भन्नुभयो,“गत दुई वर्षमा गाजामा विनाश भयो, तर यहाँका नागरिकहरूले पुनः उठ्ने क्षमताको उदाहरण प्रस्तुत गरेका छन् ।”

स्वयंसेवक इब्राहिम हसनले भन्नुभयो, “म यो अभियानमा सहभागी छु किनभने गाजालाई जीवनमा फर्काउने काम केवल आफ्नै जनताले गर्न सक्छ । जीवन फिर्ता ल्याउन पुनर्निर्माण आवश्यक छ, चाहे यसमा पुस्तौं युवा र बच्चाहरूको योगदान लागोस् ।”
स्वयंसेवक हानान ओबेइदले फेस मास्क लगाएर फोहोर हटाउँदै भन्नुभयो,“यस अभियानमा सहभागी हुन पाउँदा मलाई गर्व छ । गाजामा जीवन छिटो फर्काउन यो हाम्रो साझा जिम्मेवारी हो।”

अभियान त्यतिबेला जारी छ जब गाजा पट्टी गम्भीर मानवीय सङ्कटको सामना गरिरहेको छ । विस्थापित मानिसहरू बस्ने क्षेत्रमा फोहोरको थुप्रोले वातावरण र स्वास्थ्यमा जोखिम निम्त्याइरहेको छ ।

गाजा नगरपालिका सङ्घका उपाध्यक्ष अल–अला अल–बट्टाले जानकारी दिनुभयो,“हाल सात लाख टन फोहोर अस्थायी डम्पमा जम्मा भइरहेको छ, र ईन्धन तथा उपकरण अभावका कारण यसलाई व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ ।”