भजनी (कैलाली), २ मङ्सिर :टीकापुर नगरपालिकाले कार्यान्वयनमा ल्याएको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । बालविवाहलाई न्यूनीकरणका लागि नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ देखि सो कार्यक्रम थालनी गरेको थियो ।
बीस वर्षभन्दा अगाडि कुनै छोरीले विवाह गर्न नपरोस् भन्दै सुरु गरेको उक्त कार्यक्रममा हालसम्म एक हजार ४८१ छोरी आवद्ध भएका छन् । उनीहरूका नाममा नगरपालिकाले बैंकका खाता सञ्चालन गराएर वार्षिक दरले रकम जम्मा गर्दै आएको छ । उक्त रकम २० वर्ष पूरा भएपछि मात्रै भुक्तानी गर्न पाइनेछ । वार्षिक एक हजारका दरले नगरपालिकाले छोरीका नाममा सञ्चालन भएको खातामा एक हजार जम्मा गर्दै आएको छ ।
जन्मदर्ताका आधारमा आव २०७६÷७७ भन्दा पछि जन्मेका छोरीको बैंक खाता नगरपालिकाले खोलिदिने गरेको छ । टीकापुर –६ का वडाध्यक्ष बलीराम चौधरीले भन्नुभयो“अहिले छोरी जन्मेपछि अभिभावक उत्साहका साथ छोरीको खाता खोल्न सिफारिस लिन आउनुहुन्छ । कार्यक्रमले बालविवाह न्यूनीकरणमा केही वर्षपछि महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास हामीले गरेका छौँ ।”