बोगोटा, २ मङ्सिर: कोलम्बियाको सेनाले अगस्ट महिनादेखि गुरिल्ला लडाकूहरूलाई लक्षित गरी सञ्चालन गरिएको सैन्य कारबाहीका क्रममा १५ जना अपहरणमा परेका बालबालिकाहरूको ज्यान गएको अधिकारीहरूले सोमबार पुष्टि गरेका छन् । यसै सशस्त्र समूहद्वारा जबर्जस्ती अपहरणमा पारिएका ती नाबालिगहरू सेनाको कारबाहीमा गोलीको शिकार भएको बताइएको छ ।
राष्ट्रपति गुस्ताभो पेट्रोले हालैका दुई सैन्य बम आक्रमणमा पाँच बालबालिकाको मृत्यु भएको प्रारम्भिक जानकारी सार्वजनिक गर्नुभएको थियो । कोलम्बियाको मानव अधिकार लोकपालको कार्यालयले सो सङ्ख्यामा सातसम्मको थप पुष्टि गरेको छ । ती बालबालिकाहरूको उमेर सार्वजनिक गरिएको छैन ।
यसैबीच, कोलम्बियाको नेसनल इन्स्टिच्युट अफ लिगल मेडिसिन एन्ड फरेन्सिक साइन्सेजले सोमबार नै अगस्ट २४ मा दक्षिण–मध्य ग्वाभियर विभागमा भएको एक सैन्य आक्रमणका क्रममा तीन नाबालिगको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ ।
सेना र अभियोजकहरूले अक्टोबर १० मा १९ गुरिल्ला सदस्य र सात बालबालिकाको ज्यान जाने गरी भएको आक्रमणबारे संयुक्त छानबिन सुरु गरेको जानकारी दिएपछि राष्ट्रपति पेट्रोले सामाजिक सञ्जाल एक्समार्फत लेख्दै भन्नुभयो, “सबै नाबालिगहरू अपराधी समूहहरूद्वारा जबर्जस्ती भर्ती गरिएका थिए, जसले उनीहरूलाई सीधै वैमनस्य र युद्धको मैदानमा धकेलेको थियो ।”
कोलम्बियामा रहेको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले अपहरणमा परेका बालबालिकाहरूको सुरक्षाका लागि सेना तथा सुरक्षाकर्मीहरूले सकेसम्म सबै उपाय अपनाउनुपर्नेमा जोड दिँदै नाबालिगहरूको मृत्यु भएको घटनाप्रति ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । रिपोर्टहरूअनुसार कोलम्बियामा औसतमा प्रत्येक दुई दिनमा एक नाबालिगलाई छापामार समूहहरूले अपहरण गरी लडाकूका रूपमा तालिम दिने गरेका छन् ।
राष्ट्रपति पेट्रोले सैनिकहरूको ज्यान जोगाउनका लागि आक्रमणको आदेश दिइएको बताउनुभएको छ । उहाँले बालबालिकाहरूको ‘दुःखद क्षति’ प्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ र ‘मैले यो पीडा आफ्नै अन्तस्करणमा बोकेको छु’ भन्दै पीडित आमाहरूसँग क्षमायाचना गर्नुभएको छ ।
तर उहाँले २०१६ को शान्ति सम्झौतापछि निरस्त्रीकरण गर्न अस्वीकार गरी पुनः सक्रिय भएका फार्कका असन्तुष्ट समूहहरूलाई लक्षित सैन्य कार्यवाही रोक्न लोकपालको कार्यालयले गरेको अनुरोध भने अस्वीकार गर्नुभएको छ ।
अभियोजनकर्ताहरूका अनुसार सन् २०१९ देखि २०२३ सम्म विभिन्न सशस्त्र समूहहरूले एक हजार १०० भन्दा बढी बालबालिकालाई अपहरण गरेका छन् । सन् १९९६ देखि २०१६ सम्म यो सङ्ख्या २३ हजार ८०० पुगेको थियो, जसले कोलम्बियामा दशौँ वर्षदेखि जारी हिंसा र बालअधिकार सङ्कटको गम्भीरता झनै उजागर गर्दछ ।