काठमाडौँ, ३ मङ्सिरः अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीले कास्य पदक हात पारेका छन् । बङ्गलादेशको राजधानी ढाकामा आयोजित २९औँ ओलम्पियाड प्रतियोगितामा सेन्ट जेभियर्स स्कुल, गोदावरीका कक्षा १० मा अध्ययनरत सौर्यम श्रेष्ठले नेपालका लागि उक्त पदक हात पारेका नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ । प्रतियोगिता बङ्गलादेशको राजधानी ढाकामा गत कात्तिक २० गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो ।
सोसाइटीले सन् २०१८ देखि अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा सहभागिता जनाउँदै आएको अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार नेपालले यसअघि सन् २०१९ र २०२३ मा पनि कास्य पदक प्राप्त गरेको थियो ।
नासोले अन्तरराष्ट्रिय खगोल ओलम्पियाड सहभागी हुनुपू्र्व नेपालमा राष्ट्रिय एष्ट्रोनोमी ओलिम्पियाडको आयोजना गर्दै आएको छ । राष्ट्रिय ओलम्पियाडको छनोटमा परेका उत्कृष्ट विद्यार्थीले मात्र अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा सहभागी हुन पाउने छन् । नेपालमा राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड सन् २०१४ देखि सुरु गरिएको हो ।
के हो एष्ट्रोनोमी ओलिम्पियाड ?
राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड एक शैक्षिक प्रतियोगिता हो, जसले प्रारम्भिकस्तरमा प्रतिभा पहिचान गर्ने उद्देश्य राख्छ । यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तरराष्ट्रिय प्रतियोगितामा सिफारिस गरिन्छ ।
सन् २०१४ देखि सञ्चालन हुँदै आएको ओलम्पियाडमार्फत हालसम्म तीन हजारभन्दा बढी विद्यार्थीले आफ्नो क्षमता परीक्षण गरिसकेका नासोका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार उत्कृष्ट ठहरिएका विद्यार्थी देश तथा विदेशका प्रतिष्ठित विश्वविद्यालयमा विज्ञान विषयमा अध्ययनरत छन् ।
ओलम्पियाड प्रतियोगिता कक्षा ८ देखि १२ सम्म अध्ययनरत १३–२० वर्ष उमेर समूहका विद्यार्थीलाई लक्षित गरी सुरु गरिएको हो । कनिष्ठ तथा वरिष्ठ विधामा विभाजन गरी नासोले सातै प्रदेशमा छनोट परीक्षा सञ्चालन गर्दै आएको छ । उत्कृष्ट विद्यार्थीलाई अन्तरराष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्दै आइएको नासोले जनाएको छ ।