मंसिर ३, २०८२ बुधबार

सन्तोष गौतम 

म्याग्दी, ३ मङ्सिर ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गमा व्यवस्थित झोलुङ्गे पुल नहुँदा आवत जावतमा समस्या भएको छ ।  

नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको उक्त पदमार्गको नारच्याङ–हुमखोला खण्डको कच्चि सडक र हुमखोला–आधारशिविर खण्डमा रहेका अस्थायी पुल (साँघु र फड्के) हरुको स्तरोन्नति गर्नुपर्ने भएको छ । पदयात्रीहरुको चाप बढेपछि अस्थायी पुलमा आलोपालो गरेर हिड्नुपर्ने अवस्था आएको मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले बताउनुभयो । 

स्थानीय सिप र प्रविधिको प्रयोग गरेर निर्माण भएको अस्थायी पुललाई पर्यटकको चापसँगै स्तरोन्नति गर्नुपर्ने भएको उहाँले बताउनुभयो । पुलमा काठको फ्ल्याक बिछ्याइएको छ । लठ्ठाहरु हल्लिदाँ वारपार गर्न जोखिम भएको हो । भारी बोकेर पुल तर्न गाहे हुने गरेको छ । पुलको दायाँबाया जाली पनि छैन् । कतिपय ठाउँमा काठका साघुबाट खोला तर्नुपर्छ ।  

हुमखोला, फुतफुते झरना, रेडवाटर फल, सुनखोला र पञ्चकुण्डमा रहेका काठे पुल परिवर्तन र स्तरोन्नति गर्नुपर्ने देखिएको हो । पञ्चकुण्ड तालको छेउबाट आधार शिविर जाने बाटोमा खोलामाथी राखिएको काठमा हिउँ जम्ने र चिप्लने समस्या छ । 

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा पदमार्गको प्रवेशबिन्दुमा पर्ने हुमखोलामा ६० मिटर लामो झोलुङ्गे पुल निर्माणको तयारी गरेको जनाएको छ । गाउँपालिकाका सवइञ्जिनियर बालकृष्ण पौडेलले सामग्रीहरु खरिद भइसकेको पुल निर्माण गर्न उपभोक्ता समिति गठन र सम्झौतापछि काम अघि बढाउने बताउनुभयो । 

फुतफुते झरनामा झोलुङ्गे पुल बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । पृष्ठभूमिमा झरनाहरु अवलोकन गर्दै तस्विर, भिडियो खिच्ने ठाउँ समेत रहने गरेर पुल बनाउन डिजाइन गरिएको उहाँले बताउनुभयो । 

अन्य ठाउँमा पुल बनाउनका लागि प्रदेश तथा संघीय सरकारसँग पहल गरेको गाउँपालिकाले जनाएको छ । हालै मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविरको भ्रमण गरेर आएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले झोलुङ्गे पुल, खानेपानी, सञ्चार, विद्युत सुविधा विस्तार र पदमार्ग स्तरोन्नतिका लागि सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । 

समुन्द्रि सतहदेखि चार हजार एक सय ५० मिटर उचाईमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दुरिमा सहजै पदयात्रामा पुगिने भएकाले पर्यटकको रोजाईमा परेको छ । असोज र कात्तिक महिनामा करिब १५ हजार जनाले आधार शिविरको भ्रमण गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष लोकबहादुर पुनले बताउनुभयो । 

नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य भएको शेर्पा अल्पाइन ट्रेकीङका पथप्रर्दशक लाक्पा आङवु शेर्पाले बताउनुभयो । 

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । 

नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले वि.स. २०७७ मा नक्साङ्कन र ‘मौरिस हर्जोग’ नामाकरण गरेको थियो । 

सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस र लुईस लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो । आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । 

वि.स. २०७७ मा भएको अन्नपूर्ण महोत्सव र गत जेठमा अन्नपूर्ण आरोहणको हिरक जयन्तिले पदमार्ग, हिमाल र आधार शिविरको प्रचार गर्न सहयोग पुगेको छ । पदमार्गको प्रवेशबिन्दुमा पर्ने नारच्याङमा सन् २०१२ आएका हर्जोगले आरोहणका समयमा प्रयोग गरेको बाटो र आधार शिविरको बारेमा जानकारी गराएपछि स्थानीयबासीहरुको टोलीले पदमार्गको खोज अनुसन्धान गरेको अगुवा गुरुङले बताउनुभयो ।