मंसिर ३, २०८२ बुधबार

कैलाली, ३ मङ्सिरः धनगढी उपमहानगरपालिका–२ छ लेन सडक छेउमा बसोबास गर्दै आउनुभएका धर्मवीर ठाकुरले लामो समयदेखि आरन व्यवसाय गर्दै आउनुभएको छ । उहाँका बुबा पनि आरनकै काम गर्नुहुन्थ्यो । उहाँका बुवाले उक्त व्यवसाय सुरु गर्नुभएको थियो । सानै हुँदा बुबासँगै आरनमा खेल्दाखेल्दै उहाँले आरनको काम सिक्नुभयो । बुबाले सुरु गर्नुभएको उक्त पेसालाई ठाकुरले निरन्तरता दिँदै आउनुभएको छ । अहिले आरन व्यवसायमा रु १० लाख जति लगानी गर्नुभएको छ । 

रौतहटको गौरमा स्थायी घर भएका ठाकुर करिब ३० वर्षदेखि धनगढीमा आरन चलाएरै जीविकोपार्जन गर्दै आउनुभएको छ । उहाँको परिवारमा श्रीमान्, श्रीमती पाँच छोराछोरी गरी सात जनाको परिवार छ । एक जना रोजगारीसमेत दिनुभएको छ । लामो समयदेखि अँगालेको सोही पेसाले उहाँले अहिले सात जनाको जहान लालनपालन गरिरहनुभएको छ । छोराछोरी साना छन् । घरका सबै परिवार उहाँ एक जनाको कमाईमा पूर्णनिर्भर छन । “छोराछोरीको शिक्षादीक्षा, घरखर्चलगागत सम्पूर्ण खर्च आरन पेसाको कमाइ नै धानेको छु”, उहाँले भन्नुभयो ।

कृषि प्रणालीमा भएको आधुनिकीकरणसँगै पछिल्लो समय व्यवसायको स्तर खस्कन थालेको उहाँले बताउनुभयो । अहिले बजारमा आधुनिक कृषि औजार आइसकेका छन् । जुन औजारको प्रयोगले छिटो र छरितो तरिकाले खेतीपाती गर्न सकिन्छ । पहिले खेत जोत्नको लागि हलोको प्रयोग गरिन्थ्यो तर हिजोआज प्राय ट्र्याक्टर, चम्पा ट्र्याक्टरद्वारा खेतीपाती गर्ने गरिएको छ । 

त्यस्तै हातले फलाम पिटेर बनाइएका सामानभन्दा मेसिनले बनाइएका कृषि औजार देखिनमा आकर्षण, चिल्ला पनि हुने भएकाले परम्परागत तरिकाले बनाइएका औजारको बिक्री दर घटेको छ । 

त्यस्तै धान, गहुँलगायतका अन्नबाली काट्न पनि पहिले हँसिया प्रयोग गर्ने गरिन्थ्यो तर हिजोआज आधुनिक कृषि औजार प्रयोग गर्ने गरिन्छ । केही किसानहरुले मात्र हँसिया प्रयोग गर्ने गरेका छन् । मानिसले छिटो र सजिलोका लागि पनि आधुनिक कृषि औजार प्रयोग गर्ने गरेको व्यवसायी ठाकुरको भनाइ छ ।

व्यवसायी ठाकुरले पहिले मासिक रु ७० हजार बराबरको कारोबार हुने गरेको र त्यसमा रु ४० हजार बचत हुने गरेको बताउँनुभयोे । तर अहिले मासिक रु ४० हजारको कारोबार हुने गरेको छ । त्यसमा रु २० हजार जति बचत हुने गरको उहाँले बताउँनुभयो । पहिलेभन्दा आरनको व्यापार खस्कदो अवस्थामा रहेको उहाँले बताउनुभयो ।

व्यापारको अवस्था दयनीय हुँदै गइरहेकाले धनगढीमा कतिपय आरन व्यवसायी विस्थापित समेत भईसकेको उहाँले बताउनुभयो । “सुदूरपश्चिर प्रदेशकै व्यापारीक केन्द्रका रुपमा रहेको धनगढी बजार आसपासका क्षेत्रमा पहिले २० जनाभन्दा बढी आरनका व्यवसायीले यो पेसा अँगाल्दै आएका थिए भने अहिले छ जना व्यवसायीले मुस्किलले यो पेसा गर्दै आएका छन्”, उहाँले भन्नुभयो । आरनको व्यवसायको अवस्था खस्कँदै गएपछि धेरै आरन व्यवसायी विस्तापित भएको उहाँले बताउनुभयो । पहिलेको तुलनामा अहिले व्यापार कम हुँदै गएकाले घर भाँडा उठाउँन र परिवार पाल्न समेत धौधौ पर्न थालेको उहाँले बताउनुभयो । जीविकोपार्जनका लागि अन्य विकल्प खोज्नुपर्नेसमेत बाध्यता रहेको उहाँको भनाइ छ । 

ठाकुरले हँसिया, कुटो, कोदालो, हलोको फालीलगायतका कृषि औजार बनाएर बिक्री गर्ने गरेको बताउनुभयो । उहाँलाई आरन व्यवसाय गर्दै आएको तीन दशकभन्दा बढी भइसकेको छ । उहाँमा आरनमा विभिन्न कृषि औजार बनाउने राम्रो सीप छ । यतिसम्म की उहाँले बनाएका कृषि औजारहरु देखेर जो कोही पनि औजार किन्न मन पराउँछन् । यसका कारण कृषि औजार लिन टाढा टाढाबाट समेत ग्राहकहरु आउने गरेको उहाँले बताउनुभयो ।